तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी शुरु

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसङै उनीहरुको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ सुरु गरिएको छ ।

पर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ का ६३ वर्षीया महिला (आमा) र २७ वर्षीय पुरुष (छोरा)को शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अन्यको ट्रेसिङ सुरु गरिएको हो ।

उनीहरु गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट नेपाल आएका थिए । एक महिनापछि उनिहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिन काठमाडौं बसेर उनीहरु चितवन आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा ट्रेसिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँले संक्रमितको मनोवल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो । जिल्लामा लकडाउनलाई थप कडाई गरिएको भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुको परिवार ठूलो भएकोले सबैको संख्या यकिन गर्न र सम्पर्कमा रहेकाहरुको खोजी गरिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिनुभयो । उहाँले परिवारका सदस्यलाई होम क्वारेन्टिाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टिन बनाएर राखिने जानकारी दिनुभयो ।

उनीहरुको बुधबार र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो ।

बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राती पोजिटिभ नतिजा आएको थियो ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षण गर्दा दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याविन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार संक्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button