तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

बैतडी । बैतडीमा गर्मीयाम शुरु भएसँगै स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन् । पछिल्ला केही बर्ष यता बैतडी जस्ता पहाडी जिल्लाहरुमा पनि औलोका बिरामी देखिन थालेका हुन् ।

इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो बर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ बर्षीया अस्मिता साउदलाई औलो रोग भएको पुष्टी भएको छ । केही दिनअघि ज्वरो आएकी साउदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले जानकारी दिनुभयो । साउदको अहिले उपचार भइरहेको छ ।

एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोट आएको उहाँले बताउनुभयो ।

पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झुलको प्रयोग गरेर सुत्ने, घरवरीपरीको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ का एक ४८ बर्षीय पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टी भएको छ ।

ती पुरुषमा अत्याधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टी भएको हो ।
माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी संक्रमित भएका थिए ।

क्वारेन्टाइनमा व्यवस्थित नभएको गुनासो
बैतडीको पुर्चौडी नगरपालिका वडा नं ८ मा क्वारेन्टाइनमा बसेका नागरिकहरुले समस्या भएको बताएका छन् ।

सो वडामा ७० जना क्वारेन्टाइनमा बसेको भएपनि नगरपालिकाले आठवटा कम्वल र पाँच ओटा मेट मात्रै उपलब्ध गराएको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताउनुभयो ।

आफूहरु भारतीय क्वारेन्टाइनमा समस्या झेलेर आएको र स्वदेशका क्वारेन्टाइनमा समेत समस्यामै बस्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

चुहिने विद्यालयको भवनमा रात कटाउनु परिरहेको उनीहरुले बताएका छन् । चिसोका कारण अन्य स्वास्थ्य समस्या आउन सक्ने स्थानीय कृष्ण साउदले बताउनुभयो । आफूहरुलाई क्वारेन्टाइनमा बस्न निकै असहज भएको उहाँले बताउनुभयो ।

यो बिषयमा वडा अध्यक्ष जनक बिष्टले क्वारेन्टाइनमा बसेका नागरिकहरुको समस्या समाधानका लागि नगरपालिकासँग बारम्बार आग्रह गरेको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button