२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बुन्डेस लिगा आजदेखि, ६ खेलमा प्रतिस्पर्धा

रेडियो नेपाल २०७७ जेठ ३ गते ११:११

म्युनिख । कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्द गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ ।

फ्रेन्च लिग वान रद्द भए पनि जर्मन फुटबल लिग (डीएफएल)ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा गर्ने निर्णय ग¥यो । जर्मन चान्सलरले सावधानी अपनाएर खेलकुद गतिविधि गर्न ग्रिन लाइटको सिग्नल दिएपछि डीएफएले १६ मेदेखि लिग आयोजना गर्ने जोखिम मोल्यो ।

यससँगै झन्डै ६४ दिनपछि युरोपियन फुटबल फर्कने भएको छ । अर्थात् कोरोनाका कारण स्थगित रहेको फुटबलका ठूला प्रतियोगिताहरूमा बुन्डेसलिगा पहिलोपटक सुचारु हुँदै छ । शनिबारदेखि सुरु हुने बुन्डेस लिगामा युरोपका अन्य देशका घरेलु लिग आयोजकसँगै विश्वको ध्यान जर्मनीमा केन्द्रित हुनेछ । कोरोनाको संक्रमणको त्रास अझै पनि कायम रहँदा सबै खेल बन्द रंगशालामा हुनेछ ।

बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुने तालिका छ । जसमा सबैको ध्यान युवा स्टारहरूले भरिएको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेलमा हुनेछ । शनिबार अग्सवर्ग र वल्सवर्ग, डर्टमन्ड र साल्के, डुसेलडर्फर पाडेरवर्न, आरबी लेइपजिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । बायर्न म्युनिख आइतबार युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ ।

सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । बुन्डेस लिगामा बायर्न शीर्षस्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमन्ड रहेको छ । पाँच खेल एक समयमा सुरु हुनेछ । खेल नेपाली समयअनुसार ७ः१५ बजेपछि सुरु हुनेछ । धेरै चासो रहेका बेला जर्मन फुटबलले सबैभन्दा पहिले पोर्टोकल बनाएर लिगलाई सुचारु गर्ने योजना ल्याएको थियो । जसका लागि उसले तीन चरणमा आफ्नो योजनालाई छलफलमा ल्याएर बुन्डेस लिगा गर्ने अन्तिम निर्णयमा पुगेको थियो ।

शीर्ष डिभिजन क्लबहरूले स्वास्थ्य नियमको पालना गर्दै प्रशिक्षणमा फर्किए । जर्मन फुटबलले बुन्डेस लिगा सुचारुका लागि एक भेन्युमा ३ सयभन्दा बढीलाई प्रवेशमा निषेध गरिएको छ । जर्मन फुटबलले खेलाडी प्रशिक्षणमा आउनुअगाडि सबै टिमका खेलाडीलाई कोरोना परीक्षण गर्नेछ । त्यसपछि यो सिजन नसकिँदासम्म साताको दुईपटक खेलाडीको परीक्षण गरिनेछ । जसमा खेलको अगाडि एकपटक गरिनेछ ।

खेलाडीले आफ्नो टेस्टबारे हाइजिन अफिसरलाई जानकारी दिनुपर्नेछ । प्रशिक्षणका बेला खेलाडीले एक अर्कासँग ठोकिनेगरी प्रशिक्षण गर्न पाउने छैनन् । उनीहरूले सामाजिक दूरी कायम राख्नुपर्नेछ । जसमा उनीहरूले दुई मिटरको दूरी कायम राखेर प्रशिक्षण गर्नुपर्नेछ । अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । मैदान प्रवेशअघि खेलाडीको शरीरको तापक्रम मापन हुनेछ । मैदानमा रहेका सबै कोठा संक्रमण मुक्त गरिनेछन् । यस्तै, खेलमा सुरुवाती ११ र सब्स्टिच्युटको नियममा पनि परिवर्तन हुनेछ ।

प्रशिक्षक हेर्लिच एक खेललाई प्रतिबन्धित
लकडाउनको नियम उल्लंघन गरेपछि जर्मन बुन्डेस लिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेइको हेर्लिचलाई जर्मन फुटबल लिग (डीएफएल)ले एक खेलमा निलम्बन गरेको छ ।

लिग हुने संघारमा लकडाउनको नियम तोड्दै उनी होटलबाट टुथ पेस्ट र स्किन क्रिम किन्न बजार निस्किएका बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डीएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो ।

हेर्लिचको टिमले शनिबार वल्सवर्गको सामना गर्दै छ । बायर लिभरकुसेनका पूर्वप्रशिक्षक ४८ वर्षे हेर्लिच गएको १० मार्चमा क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । घरेलु मैदानमा वल्सवर्गसँग उनको पहिलो खेल थियो । ‘होटल छाडेर मैले गल्ती गरेको स्वीकार गरिसकेका छु । होटलबाट बाहिर निस्कने समयमा मैले सबै स्वच्छ उपाय अवलम्बन गरेको थिएँ । म यसलाई लुकाउन सक्दिनँ । यस अवस्थामा म आफ्नो टिमसँग काम गर्न योग्य हुनेछैन । म आफ्नो गल्तीमा उभिएको छु । शुक्रबारको प्रशिक्षण र शनिबारको खेलमा म उपस्थित हुनेछैन,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्लबले खेलाडी र स्टाफको नियमित रूपमा परीक्षण गरिरहेको छ । हेर्लिचको दुईपटक नतिजा नेगेटिभ आएपछि मात्र उनी टिमको प्रशिक्षणमा सहभागी हुन पाउनेछन् । अग्सबर्ग बुन्डेस लिगाको १४औं स्थानमा रहेको छ । जुन रेलिगेसन जोन १६औं स्थानको प्ले अफ खेल्नेभन्दा ५ अंक बढी हो ।