२०७७ साल जेठ २१ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतको उत्तर प्रदेशमा दुई ट्रक एकआपसमा ठोक्किँदा २४ जनाको मृत्यु

रेडियो नेपाल २०७७ जेठ ३ गते १५:४५

औरया, उत्तर प्रदेश –  भारतको उत्तर प्रदेशमा दुई  ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको औरयामा भएको दुर्घटनामा परी अरु केही घाइते पनि भएका छन् । मृत्यु भएका र घाइते भएका सवै मजदुर रहेका जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान ३।३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरु मध्ये अधिकांश विहार, झारखण्ड र पश्चिम बंगालका रहेको औरयाकी प्रमुख चिकित्सा अधिकृत अर्चना श्रीवास्तवले बताउनुभयो । उहाँले अरु १५ जनालाई सैफाई विजिआईमा पठाइएको पनि जानकारी दिनुभयो ।

“दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ, अरु २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ, गम्भीर घाइते मध्ये १५ जनालाई भने अन्यत्र अस्पतालमा लगिएको छ,” उहाँले भन्नुभयो । दुर्घटनामा परेकाहरु राजस्थानबाट विहार र झारखण्डतर्फ जाँदै गरेका मजदुर रहेको अर्चनाले बताउनुभयो ।

यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले घटनाका बारेमा विस्तृत अध्ययन गर्न र प्रतिवेदन पेश गर्न प्रहरी उच्च अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले दुर्घटनाप्रति दुःख पनि व्यक्त गर्नुभएको छ ।रासस/एएनआई