तपाईँ सुन्दै हुनुहुन्छः

मृत्यु भएकी महिलामा कोरोना भाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको डेलिभरि भएको जानकारी दिनुभएको हो।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताउनुभयो ।

यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइरहेका छौं । र, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् ।

यो परीक्षणहरुको र सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसारण गर्ने व्यहोरा सबैलाई म जानकारी गराउँछु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button