तपाईँ सुन्दै हुनुहुन्छः

बस्ती झर्दै छन् वन्यजन्तु

दोलखा । लकडाउनमा प्रकृतिको सुन्दरतालाई कैद गर्न कालिञ्चोक उक्लिएका फोटो पत्रकार जीवन लामा सडक छेउको एउटा दृश्यले झस्किए ।

झण्डै दुई हजार मीटरको आसपास सडकको डिलमा एउटा सुनौलो रङ्गको पंक्षी, डाँफे बसेको थियो । अनौठो पंक्षी, डाँफे भनेर पहिचान गरी फोटो खिच्न नभ्याउदै त्यो जंगलतिर बत्केपछि लामासँग थकथकाउनुको विकल्पै रहेन ।

अनौठो पंक्षी देख्नासाथ क्यामेरा झिकेर त्यसलाई कैद गर्न सकेको भए मेरो जीवनकै महत्वपूर्ण फोटोग्राफी हुने थियो सायद, लामाले थकथकाउदै भने – त्यस्तो रङ्को पंक्षी कहिले पनि नदेखेकोले म त अतालिएर फोटो खिच्नतिर हैन साथीहरुलाई बोलाउन तिर पो लागेछु !

लामो समयको लकडाउनका कारण वातावरणको स्वच्छता, मानिस तथा यातायातका साधनको चहलपहलमा कमी जस्ता कारणले अहिले दुर्लभ तथा संरक्षित बन्यजन्तुहरु बस्ति नजिक देखिन थालेका छन् । चार हजार मीटरको उँचाईसम्म पाइने डाँफे लकडाउनको यो अवधिमा तल तल बस्ति तिर झर्न थालेको कालिञ्चोकका स्थानीय बताउछन् ।

रतुवा मृग, घोरल, रेड पाण्डा लगायतका दुर्लभ बन्य जन्तु लकडाउनको समयमा मानव चहलपहल घटेको र वातावरण स्वच्छ भएको मौका छोपेर बस्तितिर झरेको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ ।

बुधवारमात्र गौरीशङ्कर संरक्षण क्षेत्रले बस्तितिर झरेको रतुवा मृगको उद्दार गरेको संरक्षण क्षेत्रका प्रमुख शाहले बताउनुभयो ।


मंगलवार (जेठ ६) दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ लाईसेपका खिमबहादुर खड्काले गोठमा गाई गोरु फर्काउन जाँदा रतुवा मृगको पाठोलाई भेटेपछि घरमा ल्याएका थिए । उक्त पाठोलाई खड्काले बुधवार गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख शाहलाई दिएका हुन ।

त्यसैगरी केही समय अघि विगु गाँउपालिकाकै वडा नम्बर १ जगतमा वस्ति आसपास रतुवा मृगको बच्चा स्थानियले फेला पारेर गौरीशङ्कर संरक्षण क्षेत्रलाई बुझाएका थिए । संरक्षण क्षेत्रमा अब रतुवा मृगको बच्चा दुई वटा भएको संरक्षण क्षेत्र प्रमुख शाहले बताउनुभयो । दुबै बच्चालाई ठूलो भएपछि उनीहरुको प्राकृतिक वासस्थानमा लगेर छोडिने संरक्षण क्षेत्र प्रमुख शाहको भनाई छ ।

लकडाउनकै अवधिमा विगु गाँउपालिका वडा नम्बर ४ मा रहेको सिंगटी बजारमा घोरल देखापरेको थियो । बजार छिरेको घोरल अलममा परेपछि स्थानियले उद्धार गरी संरक्षण क्षेत्रलाई बुझाएका थिए । उक्त घोरललाई स्थानियकै सहयोगमा उसको प्राकृतिक वासस्थानमै छोडिदिएको संरक्षण प्रमुख शाहले बताउनुभयो ।

संरक्षण क्षेत्रको कार्यालय रहेको सिंगटीमा तामाकोसी पारी जङ्गलमा पनि प्रशस्तै मृग तथा घोरल रहेको र ती बन्यजन्तु अहिले बस्तिको निक्कै तलसम्म आउने गरेको शाह बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button