तपाईँ सुन्दै हुनुहुन्छः

तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप

फाइल तस्बिर

कैलाली – कैलालीको कैलारी गाउँपालिकामा तीन हजार २९६ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको छ ।

नौ महिनादेखि पाँच वर्षमुनिका तीन हजार ८०४ बालबालिकामा दादुरा– रुबेलाको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार २९६ बालबालिकालाई सो खोप लगाइएको हो ।

यो लक्ष्यको तुलनामा ८६ दशमलव ७ प्रतिशत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

“चैत १५ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तय भएकोमा कोरोना भाइरसका कारण उक्त अभियान स्थगन गरिएको थियो”, उहाँले भन्नुभयो, “त्यसैले यो अभियान गाउँपालिकाभरि जेठ १ देखि ४ गतेसम्म र बाँकी छुटफुटलाई ५ गते पनि खोप लगाएका छौँ ।” गाउँपालिकामा रहेको छ स्वास्थ्य संस्थाबाट सामाजिक दूरी कायम गरेर १२ स्वास्थ्यकर्मीद्वारा दादुरा–रुबेलाको खोप लगाइएको बताइएको छ ।

छ स्वास्थ्य संस्थामध्ये हसुलिया स्वास्थ्यचौकीमा ८५ प्रतिशत, पवेरा स्वास्थ्य चौकीमा शतप्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९८ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ८४ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७७ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ९० प्रतिशत बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइएको स्वास्थ्य महाशाखा प्रमुख सापकोटाको भनाइ छ ।

यसैगरी जन्मेदेखि पाँच वर्षसम्मका चार हजार ७३३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिइएकामा तीन हजार ९२० बालबालिकालाई पोलियो थोपा खुवाइएको छ ।

यो लक्ष्यको तुलनामा ८३ प्रतिशत रहेको छ । हसुलिया स्वास्थ्यचौकीमा ८१ प्रतिशत, पवेरा स्वास्थ्यचौकीमा ८९।९ प्रतिशत, रतनपुर स्वास्थ्यचौकीमा ९७ प्रतिशत, बसौटी स्वास्थ्यचौकीमा ७८ प्रतिशत, गदरिया स्वास्थ्यचौकीमा ७४ प्रतिशत र उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ८७ प्रतिशतलाई पोलियो थोपा खुवाइएको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button