तपाईँ सुन्दै हुनुहुन्छः

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा दुई महिनामा सात जना मिर्गौला बिरामीको मृत्यु

वीरगन्ज । नारायणी अस्पतालबाट स्थानान्तरण भई नेशनल मेडिकल कलेजमा गएका मिर्गौला रोगीहरूको एकपछि अर्को गरी मृत्यु हुन थालेपछि सन्त्रास छाएको छ ।

विगत दुई महिना यता सात जना मिर्गौला रोगीको मृत्यु भएको प्रजापति नगर निवासी राम विश्वास कुशवाहाले जानकारी दिनुभयो ।

नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा डायलोसिसका लागि स्थानान्तरण भएका रोगीहरूको डायलोसिसमा चरम लापरबाही हुँदा मिर्गौला बिरामीहरूको मृत्यु हुन क्रम चलिरहेको पीडितका परिवारले बताएका छन् ।

डायलोसिस गर्दै आएका मिर्गौला रोगीहरू मध्ये मृत्यु हुनेमा २४ वर्षीय कृष्ण ठाकुर , ६० वर्षीय नन्दलाल महतो, ३५ वर्षीय अजय कार्की, ५० बर्षिया तबु नेसा, ४५ बर्षिया नासिर बानो, ६० वर्षीय नागेन्द्र झा रहेका छन् ।

नारायणी अस्पताललाई नेपाल सरकारले कोभिड अस्पताल घोषणा गरेपछि त्यहाँका मिर्गौला बिरामीलाई नेशनल मेडिकल कलेजमा डायलोसिसको लागि अस्पताल प्रशासनले वैशाख २ गतेदेखि स्थानान्तरण गरेको थियो ।

नेशनल मेडिकल कलेजमा मिर्गौला पीडितहरूको डायलोसिसको गर्ने क्रममा चरम लापरबाही भएपछि बिरामीका आफन्तले नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायलाई पटक/पटक जानकारी गराएका थिए ।

पीडित राम विश्वास कुशवाहाका अनुसार डायलोसिस गर्ने क्रममा एउटा डायलोजरबाट दश पटक समेत डायलोसिस गर्ने गरेको तर नारायणी अस्पतालमा एउटा डायलोजरबाट दुई पटक हुने गरेको जानकारी दिएका छन् ।

नारायणी अस्पतालबाट गएका बिरामीलाई नेशनल मेडिकल कलेजका चिकित्सकहरूले नराम्रो व्यवहार गर्ने र डायलोसिस समेत लापरबाही तरिकाले गर्दा बिरामीहरूको मृत्यु भएको पीडित परिवारको गुनासो छ ।

नेशनल मेडिकल कलेजलाई विपन्न नागरिक कार्यक्रम अन्तर्गत नेपाल सरकारले निःशुल्क डायलोसिस सेवा दिने गरेको छ ।

प्रतिव्यक्ति एक पटक डायलोसिस गरे बापत नेशनल मेडिकल कलेजलाई सरकारले २५ सय रुपैयाँ दिने गरेको छ ।

त्यस बाहेक डायलोजर र आवश्यक केमिकलसमेत नेपाल सरकारले सित्तैमा दिने गरेको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिनुभयो ।

सरकारी सुविधा अन्तर्गत अहिलेसम्म नारायणी अस्पतालमा डायलोसिस गराउँदा बिरामीको स्थिति ठिक थियो तर जुन दिनदेखि नेशनल मेडिकल कलेजमा बिरामी पुगे त्यो दिनदेखि नै बिरामीको अवस्था झन् झन् बिग्रँदै गएको पीडित कुशवाहाले बताउनुभयो ।

हाल नारायणी अस्पतालबाट स्थानान्तरण भएका ४० जना मिर्गौला रोगी मध्ये सात जनाको मृत्यु भएको छ भने अधिकांशको अवस्था चिन्ताजनक बन्दै गएपछि परिवारजन चिन्तित भएका छन् ।

यस विषयमा नेशनल मेडिकल कलेजका निर्देशक डा.प्रमोद सर्राफले क्षमताभन्दा बढी बिरामी आएकोले आफूmहरुले हार गुहार गरेर कर्मचारीलाई काममा लगाउने गरेको बताउनुभयो ।

उहाँले दक्ष प्राविधिक तथा कर्मचारीको रोहबरमा डायलोसिस हुने गरेको र त्यसमा कुनै कमी कमजोरी नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button