तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको आशङ्कामा बैतडीका एक युवक आइसोलेसन कक्षमा भर्ना

बैतडी । कोरोनाको आशङ्कामा बैतडीका एक युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।
जिल्लाको दोगडाकेदार–१ रिमका २५ वर्षीय युवकलाई आइसोलेसन भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका ल्याब असिस्टेन्ट चन्द्रसिंह डोबालले बताउनुभयो ।

सिन्धुपलाञ्चोकबाट एक हप्ता अगाडी घर फर्केका ती युवकमा कोरोनाको शङ्कास्पद लक्षण देखा परेपछि आइसोलेसन भर्ना गरिएको हो ।

ती युवकमा बान्ता आउने, रिँगटा लाग्नेजस्ता लक्षण देखा परेपछि आइसोलेसन भर्ना गरिएको जनाइएको छ ।

आइसोलेसन भर्ना भएका युवकको थ्रोट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिनुभयो ।

पिसिआर रिपोर्टपछि मात्रै ती युवकलाई कोरोना भए नभएको थाहा हुने जनाइएको छ ।

यसैबिच बैतडीमा हालसम्म सात जना आइसोलेसन भर्ना भएका भए पनि ६ जना डिस्चार्ज भइसकेका छन् ।

कोरोनाका शङ्कास्पद लक्षण देखा परेका र आरडिटी पोजेटिभ आएका आइसोलेसन भर्ना भएका थिए ।
डिस्चार्ज हुने सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेन्
जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि पिसीआर ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा बैतडीमा तत्कालै प्रयोगशाला स्थापना गर्ने भनेको भए पनि अहिलेसम्म कुनै तयारी नभएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिनुभयो ।

ल्याब स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको एक महिना बढी भइसकेको भए पनि प्रयोगशाला स्थापनाका लागि कुनै तयारी भएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा.श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।

त्यसपछि प्रयोगशाला स्थापनाका विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको जिल्ला अस्पतालका प्रमुख डा.जोशीले बताउनुभयो ।

कोरोना महामारीलाई लक्षित गरी प्रयोगशाला स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षमा प्रयोगशाला स्थापनाको काम अघि बढ्ने अवस्था नरहेको बताइएको छ ।

आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएमा मात्रै प्रयोगशाला निर्माणको काम अघि बढ्नेछ ।

एक्स-रे सेवा पुनः सञ्चालनमा
जिल्ला अस्पताल बैतडीमा १ हप्तादेखि अवरुद्ध रहेको एक्स-रे सेवा पुनः सञ्चालनमा आएको छ ।

मेसिन बिग्रेर अवरुद्ध भएको एक्स-रे सेवा बिहीबारदेखि सुचारु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशी जानकारी दिनुभयो । बिग्रिएको मेसिन मर्मतपश्चात् सञ्चालनमा आएको डाक्टर जोशीले बताउनुभयो ।

हात खुट्टा भाँचिएमा र छातीको एक्स-रे गर्नका यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो । यसअघि हात खुट्टा भाँचिएमा प्लास्टर गर्न पनि एक्स-रे मेसिन नहुँदा समस्या हुदैं आएको थियो ।

एक्स-रे सेवा सुचारु भएसँगै उक्त सेवा लिनको लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।

लकडाउनका बेला बाहिरी जिल्ला जान समेत समस्या हुने गरेको भए पनि सेवा सुचारु हुँदा उक्त सेवा लिने बिरामीलाई सजिलो भएको छ ।

जिल्ला अस्पतालमा इमरजेन्सी सेवा २४ सैं घण्टा, कोरोना क्लिनिक १० देखि ३ बजेसम्म र ओपिडी सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

सेवाहरू सञ्चालनमा रहेको भए पनि अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकोले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।

धेरै भिडभाड हुने क्षेत्र तथा अस्पतालमा कोरोना सङ्क्रमणको जोखिम बढी हुनसक्ने भन्दै अस्पताल आउनु पूर्व ०९५–५२००६५मा फोन गरेर आउन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button