तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना परीक्षण विना नै जिल्ला भित्रिए सयौँ सल्यानबाँसी

सल्यान । कोरोना भाइरस सङ्क्रमणको परीक्षण विना नै सल्यानमा झन्डै पाँच सय नागरिक जिल्ला भित्रिएका छन् ।

भारतका विभिन्न स्थानबाट नेपालगन्ज आएका सल्यानका नागरिकहरू आरडिटी तथा पीसिआर जाँच विना नै जिल्ला भित्रिएका हुन् ।

जिल्लाको कपुर कोट नाकाबाट ५८ जना र बबई नाकाबाट चार सय १२ जना जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

ठुलो सङ्ख्यामा नागरिकहरू आएकाले स्थानीय पालिकाहरू निमार्ण गरेका क्वारेनटाइनको सख्ंया बढाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

कपुर कोट नाकाबाट आएका सबैलाई कपुर कोट नाकामा नै रोकेर राखेको र उनीहरूको त्यही नै आरडिटी परीक्षण गरेर सम्बन्धित पालिकाको क्वारेनटाइनमा पठाइने उहाँको भनाई छ ।

यस्तै बबई नाकाबाट आएका चार सय १२ जनालाई बनगाड कुपिण्डे नगरपालिकाका सल्ली बजारमा रोकिएको छ ।

उनीहरूलाई नगरपालिकामा स्थापना गरिएका क्वारेनटाइनमा राखी स्वास्थ्य जाँच गरिने मेयर गोविन्द कुमार पुनले बताउनुभयो ।भारतका विभिन्न स्थानमा रोजगारीका लागि झन्डै १८ हजार सल्यानी पुगेका छन् ।

लकडाउन यता एक हजार आइसकेको र ६ देखि ७ हजार आउने अनुमान रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

प्रहरी र यातायात व्यवसायीको मिलेमतोमा दुई गुणा चर्को भाडा तिरेर आए नागरिक
भारतबाट नेपालगन्ज नाकाबाट आएका सल्यानका नागरिकहरूले दुई गुणा भाडा तिरेर सल्यान आइपुगेका छन् ।

बाँके प्रहरी र यातायात व्यवसायीको चर्को भाडा तिराएर जबरजस्ती जिल्ला पठाएको उनीहरूको आरोप रहेको छ । कतिपयले नगद नभएपछि मोबाइल बिक्री समेत गरेका छन् ।

कपुर कोट नाकामा आएका नागरिकहरूले प्रतिव्यक्ति १५ सय रुपैयाँ भाडा तिरेको गुनासो गरे । यस्तै बबई नाकाबाट आएका नागरिकहरूले पनि साढे तीन सय भाडा माइक्रोमा एक हजार तिरेर आएको बताएका छन् ।

नेपालगन्जमा १५ सय नदिए डन्डा लगाउँछौ भन्दै गाडीमा राखेको बनगाड कुपिण्डे नगरपालिकाका गोपीलाल रानाले बताउनुभयो । भारतमा भन्दा नेपालमा आएपछि थप दुःख पाएको उहाँको भनाई छ ।

प्रहरी र यातायात व्यवसायीको मिलेमतो चर्को भाडा असुली गरिनु निकै खेद पूर्ण भएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताउनुभयो ।

लकडाउनको मौका छोरी अलपत्र यात्रुलाई दुख दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button