तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट अवैध बाटो हुँदै दशगजामा पुगेका एक हजार दुई सय ४८ जनाको उद्धार

कञ्चनपुर । रोजगारी तथा अध्ययनको सिलसिलामा भारत गएका नेपाली नागरिकहरू कोरोना विरुद्ध गरिएको लकडाउनका कारण भारतमै अलपत्र पर्न थालेपछि अवैधानिक बाटो भएर नेपाल भित्रिने क्रम बढ्दै गएको छ ।

पश्चिम नेपालको कञ्चनपुर र कैलालीसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल–भारत दशगजा सम्म पुगेका नेपाली नागरिकहरूलाई स्थानीय प्रशासनको समन्वयमा उद्धारको क्रम समेत जारी रहेको छ ।

कञ्चनपुरको पश्चिमी सीमा क्षेत्र नेपाल–भारत दशगजा क्षेत्रमा अलपत्र परेका तीन सय ९० जनालाई भीमदत्त नगरपालिकाले उद्धार गरेर बुधवार र बिहीबार सम्बन्धित जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी पठाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको त्रासमा रोग, भोक र शोकमा परी भारतीय भूमिमा अलपत्र नेपाली नागरिकहरू जोखिमपूर्ण यात्रा गरी नेपाल भित्रिन खोजिरहेका छन् ।

उनीहरू मध्ये कञ्चनपुर र कैलालीको दक्षिणी भारतीय सीमा नाका गौरिफन्टा भएर दशगजासम्म पुगेका आठ सय ५८ जनाको पनि गए राति उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

यसैबिच, कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले हाल अवैध रूपमा ज्यान जोखिममा राखेर सीमा क्षेत्रबाट नेपाल भित्रिने क्रम नरोकिएकाले आवश्यक व्यवस्थापन गर्ने र आगामी दिनमा यसरी भित्रिने नागरिकहरूलाई आधिकारिक सीमा नाकाबाट व्यवस्थित तवरले भित्र्याउन आवश्यक ठहर गरी गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा सञ्चालित क्वारेन्टाइनहरुको क्षमता वृद्धि गर्ने र ठुलो सङ्ख्यामा कोरोना परीक्षण गर्नुपर्ने भएकोले आवश्यक भिटिएम् किटको तत्काल व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि कञ्चनपुर जिल्लास्तरमा भएका निर्णयहरू, प्रयासहरू, समन्वयको प्रगति समीक्षा गर्दै आगामी दिनहरूमा ऐक्यबद्ध भएर हातेमालो गर्दै अगाडि बढ्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button