तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको बैठक बस्नुपूर्व सबै सांसदहरुको स्वाब परीक्षण गरिने


मकवानपुर । बागमती प्रदेश सभाको अधिवेशन सुरु हुनु पूर्व प्रदेश सांसदहरुको स्वाब परिक्षण गरिने भएको छ । प्रदेशसभा बैठक बस्नुपूर्व सबै प्रदेश सांसदको स्वाब परीक्षण गर्न प्रदेशसभा सचिवालयले प्रदेश सरकारलाई पत्राचार गरेको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रदेश सभा सञ्चालन हुनु पूव नै स्वाब परिक्षणका लागि पत्राचार गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको प्रभावले देशमा जारी लकडाउनकाबीच आगामी १२ जेठ गते बजेट अधिवेशन सुरु गर्ने गरी मन्त्रिपरिषद्ले बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । यस्तो अवस्थामा बैठकमा सहभागी हुने सांसदहरुको पीसीआरबाट स्वाब परीक्षण गरिने प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी बैठक संचालन हुनुपूर्व सबै सांसदले स्वाब परीक्षण गराएर मात्रै बैठकमा सहभागी हुन पाउने उहाँले बताउनुभयो । कोरोना प्रभावकै बीच बैठक संचालन गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सबै सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकको स्वाब परीक्षण गरेर मात्र प्रदेशसभा परिसरभित्र प्रवेश गराउने तयारी गरिएको उहाँको भनाई छ ।

‘प्रदेशसभा आफैँमा संवेदनशील क्षेत्र हो,’ श्रेष्ठले भन्न्ुभयो कोरोना प्रभावका बीच बैठक संचालन गर्दैछौँ, स्वाब परीक्षण अनिवार्य गर्नुपर्छ । उहाँले हेटौँडा स्थित प्रयोगशालामा स्वाब परीक्षणका लागि मुख्यमन्त्री डोरमणि पौडेलसँग यसअघि नै छलफल भइसकेको बताउनुभयो । स्वाब परीक्षण नगरे बैठक संचालन गर्न समस्या हुने र प्रदेशसभा परिसर प्रवेशमा रोक लगाउनेबारे आफुले मुख्यमन्त्री पौडेललाई अवगत गराएको समेत सभामुख श्रेष्ठले बताउनुभयो ।

१ सय १० सांसद, ३५ जना प्रदेशसभाका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र चालकसहित करिब १ सय ५० जनाभन्दा बढीको स्वाब परीक्षण हुने जानकारी दिँदै बैठक अवधिभर स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग पनि अनिवार्य गर्नुपर्ने बताउनुभयो । सांसदले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, सेनिटाइजर लगाउने सभामुख श्रेष्ठले जानकारी दिनुभयो । सभामुख श्रेष्ठले जेठ १५ गते अघि प्रिबेजट र नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने भएकोले बैठक बोलाउन प्रदेश प्रमुखलाई मन्त्रिपरिषद्ले सिफारिस गरिसकेको बताउनुभयो । जेठ १ गते अघि नै बैठक संचालन गर्ने तयारी गरे पनि कोरोना प्रभावका कारण सामाजिक दूरी कायम गर्न प्रदेशसभा भवनमा व्यवस्थापन गर्नुपर्ने भएकोले केहि ढिलाइ भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button