तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीका कारण ६५ हजारभन्दा बढीको काफल बिक्री भएन

प्युठान । बन्दाबन्दीका कारण स्वर्गद्वारी नगरपालिका–२ नोसकी ५८ वर्षीय टीका सुनारको काफल बिक्री भएको छैन । सुनार आफ्नो बारी तथा वनमा भएको काफल टिपेर बजारमा ग्राहक खोज्दै बस्नुहुन्छ तर कोही आउँदैन ।

विगतका वर्षमा बिहान ६ बजे नै काफल टिप्न वनमा जाने सुनार यस वर्ष भने ग्राहक नपाउँदा चिन्तित हुनुहुन्छ । “नोसका व्यापारीले फोन गरी सुटुक्क मगाउने हुँदा कहिलेकाहीँ दिने गरेकी छु”, पाँच परिवार धान्दै आएकी सुनारले भन्नुभयो, “यसपालि त स्वर्गद्वारीमा कोही आएनन्, बिक्री हुने ठाउँ कतै पाइएन ।” उहाँले नोसको तल्लो क्षेत्रबाट चैतदेखि वैशाख र माथिल्लो क्षेत्रबाट वैशाखदेखि असारसम्म काफल टिपी स्वर्गद्वारी आउने भक्तजनलाई बिक्री गर्नुहुन्थ्यो ।

सुनारका श्रीमान् बितेको दुई वर्ष भयो । छोरी, नातिनातिनासहित पाँच जनाको परिवार छ । छोरी भक्तपुरको इँटाभट्टीमा काम गरेर वैशाख १३ गते आएकी छिन् । सुनारको एकल भत्ता र काफल बिक्री नै आम्दानीको स्रोत भएकामा यस वर्ष त्यही पनि रोेकिएपछि समस्या भएको बताउनुहुन्छ ।

“गत वर्ष काफल बेचेरै अन्नपात र लत्ताकपडा जोडेकी हुँ”, सुनारले भन्नुभयो, “यस वर्ष परिवारको जिम्मेवारी मेरै काँधमा भयो तर आम्दानी गुम्यो ।” गत वर्ष करिब रु ३५ हजारको काफल बिक्री गरेको सुनारको भनाइ छ । नोसका अर्का काफल व्यापारी गङ्गाराम पुनको कथा पनि त्यस्तै छ । दश जना परिवारको मौसमी आयस्रोत काफल नै थियो । गत वर्ष ६५ हजारभन्दा बढीको काफल बिक्री गरेको पुन बताउनुहुन्छ । “वनमा काफल पाकेर चरीले काफल पाक्यो भन्ने सन्देश फैलाउँदै हिँडेको छ”, पुनले भन्नुभयो, “तर बन्दाबन्दीले न बेच्न जान पाइयो, न त सन्देश सुनेर कोही आयो ।”

आफ्नै बारीमा भएका ८० भन्दा बढी बोट र वनको काफलबाट स्वर्गद्वारी, भिङ्ग्री र घोराहीसम्म पु¥याइ वर्ष दिनसम्म खर्चको जोहो गर्नुपर्नेमा बन्दाबन्दीले यस वर्ष आम्दानी गुमेको पुनको भनाइ छ । त्यसैगरी सोही ठाउँकी ६५ वर्षीय लक्ष्मी पुनलाई पनि गत वर्षको यही याममा स्वर्गद्वारी, भिङ्ग्री र घोराहीका बजारमा काफल पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । बारीमा भएका काफलबाटै रु ३५ देखि ५० हजारसम्म आय पु¥यराउने गरेको पुनले बताउनुभयो । “स्वर्गद्वारी मन्दिरमा आउने व्यक्तिले फोन गरी काफल टिपेर ल्याउन भन्नुहुन्थ्यो”, लक्ष्मी पुनले भन्नुभयो, “बन्दाबन्दीले कतै पठाउन पाइएन, बारीमै खेर गयो ।” पुनका अनुसार घोरही बजार पुग्न यातायात नहुने र स्वर्गद्वारीमा पर्यटक नआउँदा काफल बिक्रीमा समस्या भएको हो ।

एक पाथी काफल रु २५० देखि ३०० सम्ममा बिक्री हुन्छ । यहाँ करिब चार हजार ७०० पाथी काफल बिक्री हुने गरेको स्वर्गद्वारी नगरपालिका–२ का अध्यक्ष मीनराज रानामगरले जानकारी दिनुभयो । स्वर्गद्वारी मन्दिर आसपास र रोल्पाका केही गाउँबाट स्वर्गद्वारीमा काफल बिक्री गर्न ल्याइन्छ ।

काफलबाट वार्षिक मनग्य आम्दानी गर्ने विपन्न परिवारको यस वर्षको आय गुमेको छ । आफ्नो वडाबाट मात्रै करिब ६० परिवारले रु १५ देखि ६० हजारसम्म काफलबाट आम्दानी गरेका थिए । एक सिजनमा करिब रु १२ देखि १४ लाखसम्म गाउँमा काफलबाट आम्दानी हुने गरेको रानाको अनुमान छ । स्वर्गद्वारी मन्दिर क्षेत्र काफलको मुख्य बजार भए पनि बन्दाबन्दीका कारण पर्यटकको आगमन शून्य भएसँगै बिक्री पनि शून्य भएको रानाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button