तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका किसानहरू मकै रोप्न व्यस्त

सल्यान । सल्यानका किसानहरू मकै रोप्न व्यस्त हुन थालेका छन् । यस पटक समयमै बर्षात भएपछि किसानहरूले मकै रोप्न थालेका हुन् ।

आकासे पानीको भरमा खेती गदै आएका यहाँका किसान बन्दाबन्दी कै समयमा पनि मकै छर्न व्यस्त बनेका छन् ।

जिल्लाका ग्रामीण भेगका किसान अहिले बारीमा गोठे तथा स्याउले मल बोक्ने र मकै रोप्ने कार्यमा व्यस्त छन् । गहुँ काटे लगत्तै किसानहरू मकै रोप्न व्यस्त भएका हुन् ।

वैशाख जेठमै रोपेको मकैको उत्पादन राम्रो हुने किसानको भनाई छ । जिल्लाका किसानहरूले मनकामना–३, देउती, अरुण–२ लगायतका जातको मकैको बीउ लगाउँदै आएका छन् ।

विगत लामो समयदेखि बन्दाबन्दी जारी रहे पनि जिल्लामा बीउको अभाव नरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
किसानले रोजेकै बीउ नपाए पनि विकल्पमा अन्य बीउको प्रयोग गरिरहेको तर बीउ नै अभाव भएर जमिन बाँझो रहने अवस्था नरहेको कार्यालयको भनाई छ ।

जिल्लामा करिब १९ हजार तीन सय हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कार्यालयका सूचना अधिकारी रेसम कुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा गत वर्ष ६२ हजार एक सय ४५ मेट्रिक टन मकै उत्पादन भएको थियो । ती मध्ये केही मकै जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला बाहिर निर्यात हुन्छ ।

अहिले पनि जिल्लाको मकै खेती गरिने कुल क्षेत्रफल मध्ये करिब ५ प्रतिशत क्षेत्रफलमा हाइव्रेट जातको मकै खेती हुने गरेको उहाँको भनाई छ ।

कार्यालय प्रमुख महेश आचार्यले किसानलाई अनुदानमा बीउ वितरण गर्ने कार्यक्रम नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि सडक तथा सिँचाई निर्माण क्षेत्रको बजेटको १० प्रतिशत कृषिमा खर्च गर्ने कार्यविधि अनुसार बीउ तथा औजार उपकरण खरिदमा खर्च हुन्छ’ । कृषि पकेट क्षेत्रमा पनि यस खालको कार्यक्रम सञ्चालन हुँदै छ, तर सबै किसानका लागी भनेर अनुदानमा बीउ वितरण कार्यक्रम भने छैन ।

कपुर कोट गाउँपालिका अन्तर्गत कृषि शाखा प्रमुख टिका राईले अहिले किसानलक्षित बीउ वितरणको कार्यक्रम नरहेको बताउनुभयो ।

गत माघ महिनामा कार्यालयले टमाटर, काउली, बन्दालगायत तरकारीको बीउ वितरण गरेको बताउँदै उहाँले अहिले मकैलगायत तरकारीको बीउ वितरण गर्ने कार्यक्रम गाउँपालिकामा नरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button