तपाईँ सुन्दै हुनुहुन्छः

यसवर्ष आर्थिक वृद्धिको लक्ष्य तय नगर्ने चीनको घोषणा

एजेन्सी- चीनले यसवर्ष आर्थिक वृद्धिको लक्ष्य तय नगर्ने घोषणा गरेको छ । आज बेइजिङमा नेशनल पिपुल्स कंग्रेस ‘एनपीसी’लाई सम्बोधन चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आर्थिक वृद्धिको लक्ष्य तय नगरिने बताउनुभयो ।

कोरोना भाइरस संक्रमणका कारण चीनले आर्थिक वृद्धिको लक्ष्य तय नगर्ने भएको हो । चीनले सन् १९९० देखि आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्न थालेको हो । त्यसयता पहिलोपटक चीनले कुल गार्हस्थ्य उत्पादन ‘जीडीपी’को कुनै लक्ष्य तय नगरेको हो ।

सम्मेलनलाई सम्बोधन गर्नुहुदै प्रधानमन्त्री खछ्याङले कोरोना संक्रमणका कारण देखिएको अनिश्चितताको विच आर्थिक वृद्धिको अनुमान लगाउन कठिन हुने समेत उल्लेख गर्नुभयो । उनले संसारभरको अर्थव्यवस्था र कारोवार प्रभावित भएको उल्लेख गर्दै त्यसबाट चीन पनि अछुतो नरहेको बताउनुभयो ।

प्रधानमन्त्री खछ्याङले एनपीसी प्रतिनिधिमाझ कोरोना भाइरसको महामारी पुर्ण रुपमा नियन्त्रणमा लिन थप एक खर्ब युआन खर्च गर्ने योजना समेत सार्वजनिक गर्नुभएको छ ।

एनपीसीको वार्षिक संसदीय बैठकमा करिब तीन हजार प्रतिनिधि सहभागी छन् । एनपीसीको बैठकले नै देशको वार्षिक बजेट स्वीकृति गर्नुका साथै अर्थव्यवस्थाको वृद्धिको लक्ष्य पनि तय गर्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button