तपाईँ सुन्दै हुनुहुन्छः

फौजी किराले मकै बाली सखाप

अर्घाखाँची । फौजी किराले मकै बाली र तरकारी खेती सखाप पार्न थालेपछि अर्घाखाँचीको शितंगगा नगरपालिकाका किसानहरू चिन्तित बनेका छन् । केही दिनयता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारीलगायतका बाली नष्ट पार्न थालेपछि कृषकहरू चिन्तित बनेका हुन् ।

शितगंगा नगरपालिका वडा नं ७, ८, ९ र ११ मा फौजी किराको बढी प्रकोप देखिएको छ ।

प्रकोपले गाउँपालिका क्षेत्रका झन्डै एक हजार हेक्टर बढी क्षेत्रफलमा लगाएको मकै बाली र तरकारी खेती नष्ट गरेको छ ।

फौजी किराले खेतबारीमा लगाएको बाली सखाप पारेपछि किसानहरूले यसको नियन्त्रणका लागि सम्बन्धित पक्षसँग सहयोग मागिरहेका छन् ।

किसानहरूका अनुसार फौजी किराले ठुलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने तथा रातमा कलिला पात खाएर मकैको बोट सखाप पारेका छन् । फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने किसानहरू बताउँछन् ।

शितंगगाका विभिन्न वडाहरूमा फौजी किराको प्रकोप देखिएपछि सिङ्गो नगरका किसानहरू नै त्रसित भएका छन् । किसानहरूको गुनासो बढेपछि नगरपालिकाको कृषि शाखाबाट अनुगमन गरी विवरण सङ्कलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताउनुभयो ।

नगरपालिकाको कृषि शाखाको टोलीले फौजी किराको प्रकोप देखिएका वडामा केही किटनाशक औषधि छर्किएको र कृषकलाई फौजी किरा नियन्त्रणको घरेलु विधिका बारे जानकारी समेत दिएको गौतमको भनाई छ ।

स्थानीय स्तरमा पर्याप्त मात्रामा औषधि नभएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा थप औषधि खरिद गरेर छर्कने योजना बनाएको नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button