तपाईँ सुन्दै हुनुहुन्छः

इँटाभट्टामा कार्यरत ३ हजार भारतीय र दुई हजार स्वदेशी मजदुर घर फर्कन आतुर


भक्तपुर । भक्तपुरका बिभिन्न इँटाभट्टामा कार्यरत करिब ३ हजार भारतीय र २ हजार नेपाली मजदुरहरू कोरोना भाइरसको महामारीको कारण जारी लकडाउनको कारण आफ्नो थातथलो फर्कन पाएका छैनन् ।

अधिकांश भारतको बिहार राज्यका मजदुरहरूले सकेसम्म चाँडो स्वदेश फर्किन आतुर रहेको भए पनि स्वदेश फर्कन नपाएको गुनासो गरेका छन् ।

नेपालस्थित भारतीय दूतावासले इँटा व्यवसायीहरूको राष्ट्रिय समितिले सातादिन अघि मजदुरहरूको तथ्याङ्क मागेको थियो । सोहीअनुसार भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घले २ हजार ९४७ जना भारतीय मजदुरहरूको नाम, ठेगाना, फोन न.ं सहितको तथ्याङ्क बुझाइसकेको सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले बताउनुभयो ।

तर आजसम्म भारतीय मजदुरहरूलाई घर लाने कुनै पहल नभएको उहाँले बताउनुभयो । झन्डै तीन साताअघि नै इँटाभट्टाको काम सकिएकोले ती मजदुरहरू त्यत्तिकै बसेका छन् । उनीहरूलाई हाल खान बस्न सम्बन्धित इँटाभट्टाले नै दिँदै आएको छ ।

मे दिवसको अवसर पारेर इँटा व्यवसायीहरूले मजदुरहरूलाई अवस्था सामान्य नहुञ्जेल खान बस्न हप्ताको छ सय रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले उनीहरुको खान बस्न व्यवस्था भइरहेको ह्योम्बाले बताउनुभयो ।

घरमा खेतीपातीको मौसम सुरु भएसँगै भारतीय मजदुरहरू घर फर्किन हतारिएको उहाँले बताउनुभयो । बिना काम बस्नुपर्दा भारतीय मजदुरहरू रक्सी खाने, झैझगडा गर्ने, यताउति जाने गरेका छन् । भारतीय नागरिक देख्दा एकातिर स्थानीय जनता कोरोना सङ्क्रमणबाट सशङ्कित बन्ने गरेका छन् । अर्कोतिर काम नभएपछि मजदुरहरूबाट विकृतिको सम्भावना बढेको स्थानीयको भनाइ छ ।

भारतीय मजदुरहरू विगत पाँच–छ महिनादेखि नेपालमै भएकोले हालसम्म कुनै कोरोनासम्बन्धी स्वास्थ्य समस्या नदेखिएको व्यवसायी सङ्घका अध्यक्ष ह्योम्बाले बताउनुभयो । नेपाल सरकारको सम्बन्धित निकायले पहल गरे भारतीय मजदुरलाई भारतीय सिमानासम्म पु¥याउनुपर्ने उहाँको भनाइ छ । .

त्यसो त यी भट्टाहरुमा काम गर्ने बिभिन्न जिल्लाका स्वदेशी मजदुर पनि अलपत्र परेका छन् । एकातिर इँटाभट्टाको काम सकिएकोले र अर्कातिर गाऊँ घरमा खेतीपातीको मौसम सुरु भएसँगै मजदुरहरू घर फर्किन हतारिएको उनीहरुको भनाई छ । सबै ईंटा भट्टामा गरेर करिब २ हजार स्वदेशी मजदुर ईंटा पार्ने सिजन सकिएकाले बिना काम बरालिएर बस्नुपरेको उनीहरुको भनाई छ ।

उनीहरुले जिल्ला फर्कन स्थानीय सरकार, स्थानीय प्रशासन, प्रदेश सरकार र संघीय सरकारसँग आग्रह गरेका छन् । उनीहरु भन्छन् ,‘यहाँ काम नपाएर बरालिएर बस्नु भन्दा बरु कोरोना संक्रामण चेकजाँच गराएर गाऊँघर जान पाए खेतीपातीको काममा लाग्न पाईने थियो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button