तपाईँ सुन्दै हुनुहुन्छः

गौरीफन्टा नाकाबाट छ हजार ३२० जना नेपालीको उद्धार

कञ्चनपुर  । कञ्चनपुर र कैलाली जिल्लाको दक्षिण तिर भारतीय सीमा जोडिएको गौरीफन्टा नाकाबाट छ  हजार तीन सय २० जना नेपालीको उद्धार गरिएको छ ।

भारतका विभिन्न स्थानबाट स्वदेश फर्किने उद्देश्यले नेपाल-भारत सीमा क्षेत्र गौरीफन्टासम्म पुगेका सो सङ्ख्याका नेपाली नागरिकहरूलाई यही जेठ २ गतेदेखि ९ गतेसम्म नेपाल भित्र्याइएको स्थानीय प्रशासनले जनाएको छ ।

उद्धार गरिएका मध्ये छ हजार एक सय १४ जनालाई सम्बन्धित जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरी पठाइएको छ । बाँकी दुई सय ६ जनालाई धनगढीस्थित क्वारेनटाइनमा राखिएको र उनीहरूलाई समेत सम्बन्धित पालिकामा पठाउने तयारी गरिएको छ ।

यसैबिच, कोरोना परीक्षणका लागि आवश्यक पूर्वाधार र कीट अभाव भएका कारण यो अवधिमा झन्डै पाँच हजार जनाको कोरोना परीक्षण नै नगरी गौरीफन्टा नाकाबाट स्वदेश भित्र्याइएको छ ।

सीमा नाका मै कोरोना परीक्षण गरी स्वदेश भित्र्याउने तयारीमा लागेको सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव भएकोले सबै जनाको कोरोना परीक्षण गर्न नसकिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदीले कीट अभावका कारण परीक्षण गर्न नसकिएकोले अब सम्बन्धित स्थानीय तहमै आवश्यक प्रबन्ध मिलाइने बताउनु भएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार र्यापिड कीटका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button