तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं ५ समाचारः कोरोना परीक्षणको दायरा बढाइँदै

बाँके – बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आइतबार जिल्लाका चार स्थानबाट १७१ जनाको स्वाब सङ्कलन गरिएको छ । डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो । बाँकेबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको १७५ जनासहित ३४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा हालसम्म कोरोना परीक्षणका लागि दुई हजार ४ ४० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये एक हजार ९५२ जनाको परीक्षण नतिजा नेगेटिभ तथा १४२ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको छ ।

बाँकेमा हालसम्म एक हजार १४२ जनाको आरडिटी गरिएको छ । आइतबार मात्रै ४४ जनाको आरडिटी गरिएको र नतिजा नेगेटिभ आएको श्रेष्ठको भनाइ छ । बाँकेमा एक जनाको ज्यान जाने गरी नेपालगञ्ज उपमहानगरपालिका तथा नरैनापुर, राप्तीसोनारी र खजुरा गाउँपालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने उपमहानगरपालिकाका २१ जना निको भएर घर फर्किसकेका छन् ।

चार स्थानीय तहमा कोरोना
कोरोनाको प्रमुख केन्द्रविन्दु नरैनापुरको छिमेकी राप्तीसोनारीमा आइतबार मात्रै चार जना थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पठाइएको बाँकेका १२९ स्वाब नमूना परीक्षण गर्दा चार जनाको कोरोना पुष्टि भएको हो । राप्तीसोनारी –५ का २३, २४, २३ र १६ वर्षीय पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठ स्थानीय तह रहेको बाँकेमा हालसम्म नरैनापुर गाउँपालिकामा ११४, उपमहानगरपालिकामा २५, राप्तीसोनारीमा पाँच र खजुरा गाउँपालिकामा दुई गरी १४६ जनामा सङ्क्रमण देखिएको छ । हालसम्म भारतबाट आएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा सङ्क्रमण देखा परेको छ । कोरोनाको अतिसङ्क्रमित क्षेत्र नरैनापुर गाउँपालिकामा सङ्क्रमण न्यूनीकरणको लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

बाँसगढीका सङ्क्रमित भारतबाट
बर्दियाको बाँसगढी नगरपालिकाका कोरोना सङ्क्रमण देखिएका व्यक्ति भारतबाट आएर क्वारेन्टिनमा बसेको खुल्न आएको छ । बाँसगढी– ९ का २५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

यही जेठ २ गते नेपाल आएका उनलाई अहिले थप उपचारका लागि कता लैजाने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।

यसअघि बर्दियामा राजापुरकी ११ वर्षीया बालिकामा, गुलरिया नगरपालिका ११ घर भई काठमाडौँमा रहेका एक व्यक्ति र बढैयाताल गाउँपालिका –७ का १९ वर्षीय पुरुषमा कोरोना संङ्क्रमण देखिएको थियो ।

अर्घाखाँचीमा आउने बढ्दै
भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या एक हजार ३८९ पुगेको छ । रोजगारीका सिलसिलामा भारत गएका नागरिकमा कोरोनाको उच्च जोखिम भएसंँगै उनीहरु धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।

भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै आइतबार एकै दिन ५८७ जना जिल्ला भित्रिएका हुन् ।

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७०, भूमिकास्थान नगरपालिकाका ३३६, शीतगंगा नगरपालिकाका ४४३, पाणिनी गाउँपालिकाका८८, मालारानी गाउँपालिकाका २६० र छत्रदेव गाउँपालिकामा ९२ गरी एक हजार ३८९ जिल्ला जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो जिल्लाका छ स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा एक हजार ३८९ छन् ।

स्थानीय तहमै आइसोलेशन सेन्टर
कपिलवस्तुमा कोरोना संक्रमितकोे संख्या दिन प्रतिदिन बढ्दो छ । जिल्लामा शनिवबार बिहानसम्म ७७ जनामा कोरोना पुष्टि भएको छ । शुरुआती दिनमा भारतबाट नेपाल प्रवेश गरेका नागरिकमा कोरोना देखिए पनि पछिल्लो समयमा स्वास्थ्य, सुरक्षाकर्मी र सञ्चारकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमण बढेपछि जिल्लामा रहेका स्थानीय तहहरुले आफैँ आइसोलेशन सेन्टर स्थापना गरी संक्रमितको उपचार गर्ने तयारी थालेका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ को पर्शोहीमा रहेको आयुर्वेदिक औषधालयको भवनमा २५ शय्या क्षमताको आइसोलेशन तयार पारी सञ्चालनमा ल्याइएको छ ।

उक्त सेन्टरमा गत बुधबार पुष्टि भएका पालिकाभित्रैका तीन संक्रमितलाई राखिएको छ । आइसुलेशनमा रहेका संक्रमितको स्वास्थ्य निगरानीका लागी निरन्तर दुईदुईस्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा एक सहयोगी कर्मचारी खटाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ अधिकारीले बताउनुभयो ।

त्यस्तै शिवराज नगरपालिकाले पनि चन्द्रौटामा कोराेना पुष्टि भएकाहरूको उपचारका लागि १५ दिनमा ३० शय्याको अस्पताल निर्माण गर्ने लक्ष्यानुसार निर्माण शुरु गरेको छ ।

गत शनिबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ५ नं का प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीका अध्यक्षतामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा भएको निर्णयानुसार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने समिति गठन गरेको हो ।

भारतीय सीमासंँग नजिक रहेको शिवराज नगरपालिकामा पनि कोरोना संक्रमित देखिएपछि चन्द्रौटामा नै अस्पताल निर्माण गर्नु पर्नेअवस्था आएको प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष तथा अस्पताल निर्माण समिति संयोजक महादेव पोखरेलले १५ दिनमा ३० शय्याको भवन निर्माण गर्न गरी दुई सिफ्टमा काम गरिएको बताउनुभयो ।

त्यस्तै महाराजगञ्ज नगरपालिकाले पनि नगरभित्र भेटिएका कोरोना संक्रमितलाई वडा नं १ मा रहेको जानकी माविमा आइसोलेशन निर्माण गरेको छ । नगरमा भेटिएका नौ संक्रमितलाई राखिएको नगर प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।

कोरोनाका उच्च जोखिम रहेको कपिलवस्तुको तौलिहवामा रहेको साविक महिला विकासको कार्यालय, मायादेवी गाउँपालिका १ मा नैना अस्पताल, वडा नं ३ मा रहेको पुलिका स्वास्थ्यचौकी र विजयनगर गाउँपालिका वडा नं ७ को आयुर्वेदिक अस्पताललाई कोरोना संक्रमित उपचार अस्पतालका रूपमा विकास गरिएको छ ।

भारतबाट आउने बढ्दै
भारतबाट दाङ भित्रिने दिनदिनै बढेका छन् । बिहीबार मात्रै ३५० जना क्वारेन्टिनमा बसेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सरकारले भारतबाट नेपाल फर्कन चाहनेलाई ल्याउन थालेपछि यहाँ सङ्ख्या बढेको हो । जिल्लाका क्वारेन्टिनमा ५७९ जना छन् । तीमध्ये ६२ महिला छन् । क्वारेन्टिनमा बसेकामध्ये ९० प्रतिशत मानिस भारतबाट फर्किएका रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापन सहायक विनायक पौडेलले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा बस्ने बढ्न थालेपछि थप गर्ने तयारी शुरु भएको छ । दाङमा ५७ क्वारेन्टिनमा दुई हजार एक शय्या क्षमता छ । तीन हजार शय्या पु¥याउने योजनाका साथ अहिले काम भइरहेको पौडेलले बताउनुभयो । अहिलेसम्म क्वारेन्टिनमा १७४ महिला र एक हजार १०७ पुरुष बसेका छन् । बन्दाबन्दीपछि ७०२ जना क्वारेन्टिनमा बसेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button