तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालमा मृत्यु भएका बिरामीको कोरोना सङ्क्रमण पुष्टि, मेडिकल कलेज सिल

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भई अन्त्यष्टी समेत गरिसकेका एक व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

रुघा खोकी र दमलगायतका समस्याबाट पीडित बारा करैयामाई गाउँपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय वृद्धलाई उनका आफन्तले जेठ २ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरेका थिए । वृद्धको स्वास्थ्य अवस्था नाजुक भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको जेठ ४ गते मृत्यु भएको थियो ।

वृद्धको उपचारको क्रममा कोरोना सङ्क्रमणको लक्षण देखिएको आधारमा उनको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो तर उक्त स्वाबको रिपोर्ट नआउँदै उनको मृत्यु भएपछि अस्पतालले शव आफन्तको जिम्मा लगाएको थियो ।

अन्त्येष्टि भएको एक सातापछि आज बिहान उनी सङ्क्रमित भएको पुष्टि भएसँगै अहिले मृतकका परिवारका सबै सदस्यलाई पिसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले मृतकको पिसीआर रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजलाई आज अपराह्न २ः०० बजेदेखि सिल गरिएको बताउनुभयो । अस्पताल सिल गरिएसँगै भित्र बाहिर आउजाउ गर्न पूर्णरुपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

हाल अस्पतालमा बिरामीसँग सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्य कर्मी तथा आफन्तहरूको कन्टयाक्ट टे«ेसिङ्ग गर्ने काम भइरहेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

जेठ ४ गते मृतकका परिवारले शव बुझेर निजको सोही दिन साँझ अन्तिम संस्कार समेत गरेका थिए । मृतकको मलामीमा जानेहरूको पनि कन्ट्याक्ट ट्रेसिङ्ग भइरहेको र अहिले बाराको करैयामाई गाउँपालिकाको वडा नम्बर ७ लाई सिल गरी सबैलाई होम क्वारेन्टाईनमा रहन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button