तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद……

काठमाडौँ – कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरु आर्ट ग्यालरी घुम्ने अवस्था छैन ।

कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको छैन तर उनीहरुका लागि घरमै बसेर सिर्जनाको स्वाद लिने अवसर भने प्राप्त छ । ‘भर्चुअल साउण्ड’ त्यसको नयाँ विकल्प बनेर आएको छ जुन अनलाइनमार्फत घरमै बसेर प्रत्यक्ष हेर्न सकिने छ ।

महामारीको रूपमा फैलिएको कोभिड–१९ ले समग्र विश्वलाई प्रभावित बनाएकाले अन्य विधाजस्तै ललितकला सिर्जनालाई घरमै सीमित गरिदिएको वर्तमान समयमा भोकाएका पारखीले अनलाइनमार्फत कलाको रसस्वादन गर्न पाएका छन् । कला सर्जक एनबी गुरुङको एकल प्रयासमा यो सम्भव भएको हो ।

अघिपछि कुनै आर्ट ग्यालरी दौडिएर कलाकृतिको रसमा डुबुल्की मार्ने कलाकारलाई त्यही तहको स्वाद त नहोला तर घरमै बसेर कलाको दृश्यपान भने गर्न सकिनेछ । अनलाइन कला प्रदर्शनी ‘भर्चुअल साउण्ड’ नेपाली कला क्षेत्रका लागि एउटा नयाँ फड्को हो । यो प्रयास नेपाली ललितकलामा नौलो प्रस्तुति हो भन्नुहुन्छ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य ।

बन्दाबन्दीले घरभित्रै सीमित रहेको सिर्जनाले स्थान नपाएको वर्तमान अवस्थामा अनलाइन कला प्रदर्शनीलाई कलाको सुगन्ध फैलाउने नौलो प्रयोगको रूपमा नेपाली कलाकारले हेरेका छन् । भर्चुअल साउण्डका योजनाकार अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ घरमा सीमित रहेको नेपाली ललितकलालाई अनलाइनको माध्यमबाट विश्वसामु पु¥याउने प्रयास गरिएको बताउनुहुन्छ । “लकडाउनमा थलिएको र विषम परिस्थितिबाट गुज्रिएको ललितकलालाई अनलाइनको माध्यमबाट थोरै मलम लगाउने प्रयास हो, कलाकारको सहभागिताले थप हौसला मिलेको छ”, गुरुङले भन्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन मुलुकलाई लकडाउन गरिएको दुई महिना भइसकेको छ । यसले कुची र रङमा रमाउने कलाकारलाई सिर्जना कोर्ने समय त पर्याप्त भयो तर त्यसले बजार पाउन सकेको छैन । त्यसैले भौगोलिक रूपमा प्रदर्शनी सम्भव नभएकाले अनलाइन प्रदर्शनी नयाँ प्रयास बन्न पुगेको छ । यसले बजार खोज्न पनि सहयोग मिल्ने विश्वास गरिएको छ ।

कलाकारले बनाएका सिर्जनाको महत्व भर्चुअल प्रदर्शनीमा देख्न सकिन्छ । कला सिर्जनाको महत्व झल्काउँदै नेपाली सिर्जनालाई विश्वव्यापी बनाउने प्रयास थ्रिडी श्रव्यदृश्यसहित अनलाइन कला प्रदर्शनी गरिएको हो । यसले ललितकलाको प्रवद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने आशा कलाकारको छ ।

कलाकार तथा कला पत्रकार केशवराज खनाल बाहिरी संसारबाट खुम्चिएको नेपाली कलालाई ‘भर्चुअल’ प्रदर्शनीको माध्यमबाट आमकला पारखी र दर्शकले अवलोकन गर्न पाएकामा खुलेर प्रशंसा गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “प्रत्यक्ष कलाको अवलोकनको मज्जा त पूर्णरूपमा नआउला तर यसले थोरै भए पनि कलाको तिर्खा मेटाउनेछ, आउनुहोस् केही समय कलामा रमाउनुहोस् ।”

समसामयिक विषयवस्तुका सिर्जना भर्चुअल साउण्डमा राखिएको छ । कलाकारका चित्रमा उनीहरुको कल्पना मात्र छैन, अहिलेको वास्तविकता पनि झल्किएको छ । लकडाउनका बेला कलाकारले क्यानभासमा फरक–फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका सिर्जनाले पनि स्थान पाएको छ । केही अमूर्त शैली, कुनै समसामयिक, अर्धअर्मूत, फिगरेटिभ आर्ट तथा दृश्यचित्रहरु यसमा समेटिएको छ ।

पहिलो प्रयासमा ६२ कलाकार सहभागी भएका छन् । यही जेठ १० बाट शुरु भएको अनलाइन कला प्रदर्शनीमा ३१ कलाकारको चित्र समेटिएको पहिलो भाग प्रदर्शन गरिएको छ । बाँकी कलाकारका सिर्जना आज र भोलि प्रदर्शन गरिने कलाकार गुरुङले बताउनुभयो । त्यसपछि संयुक्तरूपमा पूर्ण भाग प्रदर्शनी गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button