तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण पेस

फाइल तस्बिर

 

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बसेको छुट्टाछुट्टै बैठकमा “आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण” पेस भएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्नु हुँदै आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्मको सम्पूर्ण आर्थिक क्रियाकलापमा तीव्रता आए पनि त्यसपछि कोभिड–१९ को सङ्क्रमणको असर परेकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७६÷०७७ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान गरिएको बताउनुभयो ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा कुल उपभोग र कुल ग्राहस्थ उत्पादनको अनुपातमा क्रमशः ८१.९ र १८.१ रहने अनुमान हरेको छ ।

अर्थमन्त्री खतिवडाले कोभिड–१९ को रोकथामका लागि चालिएको कदमबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको सङ्कुचनले चालु आर्थिक वर्षमा कुल लगानी गत वर्षको तुलनामा ३.४ प्रतिशतले न्यून भई १८ खर्व ८९ अर्व र २६ करोड पुगेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा गरिबिको रेखामुनिको जनसंख्य १६.६७ प्रतिशत रहने अनुमान रहेको उहाँले बताउनुभयो ।

२०७७ फागुनसम्म अर्थतन्त्रका अन्य परिसूचकहरू सकारात्मक रहेको बताउनु हुँदै अर्थमन्त्री डा. खतिवडाले मुद्रा स्फिती, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन, लगानी र वित्तीय परिसूचक सकारात्मक भई आर्थिक स्थायित्व अनुकूल हुँदै गएको बताउनुभयो ।

चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारले सङ्कलन गर्ने राजस्व अघिल्लो वर्षको तुलनामा ९.६ प्रतिशतले वृद्धि भई चार खर्व ७९ अर्व रुपैयाँ रहेको पनि अर्थमन्त्री डा.खतिवडाले जानकारी दिनुभयो ।

फागुन मसान्तसम्म कुल वैदेशिक अनुदान १६ अर्व १९ करोड र ऋण ९३ अर्व नौ करोड रुपियाँ गरी एक खर्व नौ अर्व २८ करोड वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको, नेपालले कुल तिर्नुपर्ने सार्वजनिक ऋण ११ खर्व ३७ अर्व ८० करोड रुपियाँ पुगेको सर्वेक्षणले औँल्याएको छ ।

यस अवधिमा मुलुकको वित्तीय क्षेत्रको विस्तार हुँदै गएको, वित्तीय पहुँच अभिवृद्धि हुँदै गएको र बिमामा २२ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको पनि सर्वेक्षणले देखाएको छ ।

फागुन मसान्तसम्ममा नेपालको कुल बस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भई ७४ अर्व ९१ करोड रुपियाँ पुगेको छ भने बस्तु आयात २.६ प्रतिशतले घटेर नौ खर्व २४ अर्व २४ करोड रुपियाँ पुगेको छ र व्यापार घाटा ४.७ प्रतिशतले सङ्कुचन भएको सर्वेक्षणले देखाएको छ ।

फागुन मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति ३७ अर्व ८४ करोड रुपियाँले बचतमा रहेको, विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई पाँच खर्व ९२ अर्व ४२ करोड पुगेको र कुल जनसङ्ख्याको ९० प्रतिशतमा विद्युत्को पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सङ्घबाट १५ हजार दुई सय ५४ किलोमिटर सडक कालोपत्रे भएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७” पेस गर्नुभयो ।

यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले राज्यव्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७ पेस गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button