तपाईँ सुन्दै हुनुहुन्छः

बन्दा बन्दीमा हिमा गाउँपालिकाका एक सय ६१ विपन्नलाई रोजगारी

 

जुम्ला । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले देश विदेशमा लाखौँको रोजगारी गुमेको छ । भने स्वदेश फर्किएकालाई कसरी रोजगारी दिने भन्ने स्थानीय सरकारलाई ठुलो चुनौती छ । यसो त स्थानीय तहमा रोजगारीका सम्भावना नभएको पनि हैनन् । तर स्थानीय सरकार कोरोना नियन्त्रणमै केन्द्रित छ ।

बेरोजगारीको समस्या पनि उतिकै चुलिँदै गएको अवस्था छ । लकडाउनले रोजगारी खोसिदा कसरी युवा, विपन्नलाई रोजगारी दिने भन्ने बहस चलिरहँदा यहाँको हिमा गाउँपालिकाले भने बन्दा बन्दीका बिच सयाँै युवालाई रोजगारी प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा लकडाउनले रोजगारी खोसिएका तथा बेरोजगार एक सय ६१ जना विपन्न नागरिकलाई हिमा गाउँपालिकाले रोजगार दिएको हो ।

हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले भन्नुभयो,“आर्थिक अवस्था कमजोर भएका बेरोजगार तथा विपन्न नागरिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम दिइएका छौ । जेठ १० गते देखि रोजगार अति विपन्न नागरिकलाई गाउँपालिकाका विभिन्न वडामा आरसिसी गर्ने, गोरेटो बाटो बनाउने, सिँचाई कुलो निर्माण गर्ने, ढल निकास र कृषि सडक निर्माणको काम दिइएको छ ।”

रोजगार ब्यस्थापन सूचना प्रणालीमा पालिका भरीका एक हजार सात सय ८५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका थिए । रोजगार संयोजकले भन्नुभयो, ती मध्ये एक सय ६१ जना अति विपन्न लकडाउनले खान लगाउन समस्या भएका विपन्नलाई प्राथमिकता राखी रोजगारी दिइएको हो ।

बिहान बेलुका खान नपुग्ने अति विपन्नलाई गाउँपालिकाले रोजगारीको अवसर दिएपछि उनीहरू खुसी भएका छन् । बन्दा बन्दीको मारमा परेका विपन्न आफ्ना समस्या बुझी काम दिएको भन्दै मक्ख भएका हुन् ।

यसै गरी उनीहरूले काम गरे अनुसार दैनिक ६ सय ६० ज्याला प्रदान गरिने भएको छ । सामाजिक दुरी कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै काममा लगाइएको छ ।
चालु आर्थिक वर्षमा हिमा गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सशर्त अनुदान बापत ४२ लाख बजेट प्राप्त भएको थियो ।

अन्य स्थानीय तहले हाल रोजगारका कुनै कार्यक्रम सञ्चालन नगरेको अवस्थामा जिल्लामै पहिलो हिमा गाउँपालिकाले भने विपन्नको समस्या बुझ्दै रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढाले बताउनुभयो ।

सरकारले २०७५ फागुन १ देखि बेरोजगारलाई रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button