तपाईँ सुन्दै हुनुहुन्छः

वल्र्डभिजनद्वारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

उदयपुर । कोरोना भाइरसको महामारीमा अग्र भागमा रहेर काम गर्दै आएका उदयपुरका ४० जना पत्रकारलाई वल्र्डभिजन इन्टरनेशनलले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

महामारीको उच्च जोखिममा पनि निरन्तर जनतालाई सूचना प्रवाह गरेको भन्दै वल्र्डभिजनले साझेदार संस्था पाल्पा एकीकृत विकास समाजमार्फत क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा उपलब्ध गराएको हो ।

४१ दिनअघि त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रमा देशकै सबैभन्दा बढी एकै पटक १२ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर इपिसेन्टरको रूपमा परिणत भएको थियो ।

सङ्क्रमण ३३ जनामा पुगेपछि रोकिए पनि सञ्चार कर्मीमा जोखिम उत्तिकै रहेकाले स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाका लेखा तथा प्रशासन अधिकृत दिलिपकुमार चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार संस्थाले एन नाईन्टी फाईभ मास्क, सेनिटाईजर र पुनः प्रयोगमा आउने ग्लोब्स उपलब्ध गराएको थियो ।

स्वास्थ्य सुरक्षा सामग्री बुझ्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष भरत खड्काले प्रतिकूल अवस्थामा ज्यानको जोखिम मोलेर भए पनि जिल्लाका पत्रकारले जनतालाई निरन्तर सूचना प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले कोरोना भाईरस नियन्त्रणमा पत्रकारले अग्रणी भूमिका निर्वाह गरे पनि सरकारले पत्रकारलाई सम्मान गर्न नसक्नु दुखदायी भएको बताउनुभयो ।

उहाँले सङ्कटको बेलामा पत्रकारले आफ्नो ज्यानको बाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत राज्यले चासो नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

‘यो बेला खटिने सुरक्षा कर्मी, स्वास्थ्य कर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ, अध्यक्ष खड्काले भन्नुभयो, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्‍याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button