तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउन प्रभाव : अलैँची निर्यातमा भारतको अवरोध, व्यवसायी–किसान मारमा

भद्रपुर, झापा । भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा अवरोध गरेको छ । यसअघि तयारी चिया निर्यातमा पनि भारतीय अवरोध भएको थियो । नेपाली कृषिजन्य उत्पादनलाई भारतले लकडाउनयता प्रवेश दिन नमानिइरहेको व्यवसायीहरूले बताएका छन् ।

नेपाली कृषिजन्य उत्पादनमा निर्यात अवरोध भइरहे पनि भारतीय माल वस्तु भने काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट नियमित भित्रिरहेका छन् । खाली ट्रक पनि नपठाउनु भन्ने भारत पश्चिम बङ्गाल सरकारको उर्दीपछि कुनै पनि सामान भारत निकासी नभएको मेची भन्सार कार्यालयले जनाएको छ ।

यस वर्ष भारतीय अवरोधले गोदाममा ४० प्रतिशत अलैँची थन्किएको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

अलैँची निर्यातमा अवरोध आएपछि अलैँची किसान पनि मारमा परेका छन् । महासङ्घका महासचिव सुवास भट्टराई उत्पादित अलैँची निर्यातमा अवरोध हुँदा बैक तथा वित्तीय संस्थाबाट कर्जा लिएर कारोबार गरिरहेका व्यवसायी चर्को मर्कामा परेको बताउनुहुन्छ ।

कृषिजन्य बस्तुमध्ये निर्यातमा अलैँची सबैभन्दा अग्रपङ्क्तिमा छ । आर्थिक वर्ष २०७५/०७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची निर्यात हुँदा चार अर्व बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो ।

नेपालमा कुल उत्पादनको दुई प्रतिशत मात्र खपत हुन्छ भने बाँकी ९८ प्रतिशत अलैँची बाह्य मुलुकमा निर्यात हुँदै आएको महासङ्घका अध्यक्ष राजकुमार कार्कीले बताउनुभयो ।

महासङ्घले आज एक विज्ञप्ति जारी गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै अलैँची निकासीको वातावरण तयार गरिदिन माग गरेको छ । अलैँची व्यवसायीलाई राहत दिने गरी सरकारले व्याज छुटको कार्यक्रमसमेत ल्याउनुपर्ने महासङ्घले माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button