तपाईँ सुन्दै हुनुहुन्छः

छोरीले आमालाई अँगालो हाल्दा दुबै क्वारेन्टाईनमा

अछाम । अछाममा जिल्ला बाहिरबाट आएका छोरीले आमालाई अंगालो हालेको भन्दै आमाछोरी दुबैलाई क्वारेन्टाईन राखिएको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ६ दुनीका एक महिलाले धनगढीबाट आएकी १७ बर्षिया छोरी बसबाट झर्ने बित्तिकै छोरीले आमालाई अँगालो हालेपछी दुबै आमाछोरीलाई नै २१ दिन का लागि क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष मने साउँदले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि जिल्ला बाहिर तथा छिमेकी देश भारत लगायत अन्य मुलुकबाट आएका ब्यक्तिलाई २१ दिन क्वारेन्टाईनमा राख्ने गरिएको गाउँपालिकाले जनाएको छ । विश्वभर कोरोना भाईरस फैलिरहेको बेला भारत तथा जिल्ला बाहिरबाट गाउँपालिका फर्किनेको संख्या दिन प्रतिदिन बढिरहेको गाउँपालिकाले जनाएको छ ।

बैशाख २४ गते देखि जेठ १५ गते सम्मको तथ्यांक अनुसार भारतका विभिन्न शहरबाट ३०३ जना, जिल्ला बाहिरबाट २३ जना गरी ३२६ जनालाई गाउँपालिकामा भित्रिएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनु भयो ।

भारतका विभिन्न शहर तथा जिल्ला बाहिरबाट आएको गाउँपालिकाका सबै नागरिकलाई २१ दिन क्वारेन्टाईनमा राख्ने गरेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनुभयो । हालसम्म १२ जना क्वारेन्टाईन समायवधि पछी घर फर्किएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button