तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा बसेकी महिलाले बच्चा जन्माईन्

अछाम । अछाममा क्वारेन्टाइनमा बसेकी एक महिलाले छोराको जन्म दिएकी छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीको क्वारेन्टाइनमा बसेकी महिलाले क्वारेन्टाइन बसेको ३ दिनमा छोराको जन्म दिएकी हुन् । मेल्लेख गाउँपालिका ३ ठाटी बगुडा घर भएकी २६ वर्षीय सुना नेपालीले शुक्रबार छोरालाई जन्म दिएकी छिन् ।

जेठ ११ गते भारतको दिल्लीबाट आएकी सुना जेठ १३ गते देखि ठाटीको नवदुर्गा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी थिइन् ।

शुक्रबार बिहानैदेखि उनलाई व्यथा लागेपछि ठाँटी स्वास्थ्य चौकीका अनमी सम्झना सिँहले बर्थिङ सेन्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित क्वारेन्टाइनमा पुगेर सुरक्षित सुत्केरी गराएको ठाँटी स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र शाहले जानकारी दिनुभयो ।

बच्चाको तौल ३ केजी ५ सय ग्राम रहेको र आमा छोराको स्वास्थ्य अवस्था समान्य रहेको अनमी सिंहको भनाइ छ ।सुनालाई सुरक्षित तरिकाले स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो ।

क्वारेन्टाइनमा कतिजना गर्भवती छन् भने डाटा संकलन गरी गर्भवती भए विशेष खालको हेरचाह र खानपानको व्यवस्था मिलाउने अध्यक्ष बोहराले बताउनुभयो । जिल्लाभर हाल १६ सय २६ जना क्वारेन्टाइनमा बसिरहेका छन् र थपिने क्रम बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button