तपाईँ सुन्दै हुनुहुन्छः

परिस्थितिलाई ध्यानमा राखेर बजेटको आकार घटाइयोः अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विद्यमान परिस्थितिलाई ध्यानमा राखेर नै बजेटको आकार घटाएको बताउनु भएको छ ।

बजेटका विभिन्न पक्षमा जानकारी गराउन आज सूचना तथा संचार प्रविधि मन्त्रालय मार्फत आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले अहिले जनताको जीवनरक्षा नै प्राथमिक विषय रहेकोले कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भै बजेट ४ प्रतिशतले घटाएको बताउनु भयो ।

अर्थमन्त्री डा. खतिवडाले देशभित्र अन्तराष्ट्रिय व्यापार, लगानी, पर्यटक आगमन र आन्तरिक आर्थिक गतिविधि सबै क्षेत्रमा कोरोनाले असर पारिरहेकाले बजेट ल्याउँदा संयमता अपनाइएको उल्लेख गर्नु भयो ।

संघीयता कार्यान्यवनको चरणमा जाँदा साधनस्रोतको हिसाबले संघको बजेट संकुचित हुँदा पनि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई यथावत राखिएको अर्थ मन्त्रीले बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले यस वर्ष स्वास्थ्य र शिक्षामा बढी प्राथमिता दिएर बजेट ल्याएको र ठूला आयोजनाहरू अघि बढाउन नसकिने अहिलेको परिस्थिति र अन्य क्षेत्रले पाएको प्राथमिकताका कारण भौतिक पूर्वाधारतर्फको बजेट केही खुम्चाइएको उल्लेख गर्नु भयो ।

तीन वर्षमा स्वास्थ्यको बजेट दोब्बर भएको, कृषि र श्रम तथा रोजगारमा पनि उल्लेख्य बजेट बढाइएको र त्यसले कोरोनाबाट परेको प्रभावलाई कम गर्न सहयोग गर्ने बताउनु भयो ।

अर्थ मन्त्री खतिवडाले आगामी बजेट मार्फत करिब सातदेखि आठ लाख रोजगारी सिर्जना गर्ने गरी बजेट नै राखेर कार्यक्रहरू ल्याएको र शिप प्रदान गर्ने हो भने तत्कालै ४र५ लाख नेपालीलाई रोजगारी दिन सकिने भएकोले बजेट मार्फत कम्तिमा ७।८ लाख रोजगारी श्रृजना गर्न सकिने पनि अर्थ मन्त्रीले उल्लेख गर्नु भयो ।

अर्थ मन्त्री खतिवडाले यो बजेट अहिले सम्मका बजेटहरुमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने पहिलो बजेट भएको पनि उल्लेख गर्नु भयो ।

बजेटले जनतालाई राहत दिने कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएको उल्लेख गर्दै अर्थ मन्त्री खतिवडाले ५५ देखि ६० अर्बको राहतको रुपमा खर्च गर्न प्रस्ताव गरिएको जानकारी दिनु भयो ।

उहाँले सबै राहत प्याकेज सिधा पैसा वितरण गर्नेगरी नआउने मात्र नभै विभिन्न तबरले दिइएका छुट, सहुलियत, सस्तो ब्याजदरको कर्जालगायतका विभिन्न सुविधामा, बिजुलीमा दिइने भनेको छुटहरुको माध्यमबाट राहतको व्यवस्था गरिएको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले संकटको समयमा निजी क्षेत्रलाई राहत र अनुदान दिनैपर्ने अवस्था आएको भन्दै मुलुकका आर्थिक क्रियालापमा थप क्षति हुन नदिन र निजी क्षेत्रको मनोबल गिर्न नदिन राहतका कार्यक्रम प्रताव गरेको उल्लेख गर्नु भयो ।

अर्थ मन्त्री खतिवडाले कोरोनाको संकटबाट सामान्य अवस्थामा आए पछि हाल लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न खासै समस्या नआउने, आन्तरिक उत्पादनलाई राजस्वको मुख्य आधार बनाएको तथा करको दायरा विस्तार गर्ने तथा कच्चा पदार्थको पैठारी महशुल एक तह तल झारिएको पनि उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button