२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति

देवराज सुवेदी २०७७ जेठ १७ गते १४:१२

मेलम्ची । हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले गाउँपालिकामा दुई वटा बर्थिङ सेन्टरबाट सुत्केरी महिलाहरूले सेवा लिइरहेको जानकारी दिनुभयो ।

वडा नं. ७ र वडा नं. ५ मा दुई वटा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । वडा नं. ७ मा रहेको इचोक स्वास्थ्य चौकीबाट मात्रै चालु आर्थिक वर्षमा एक सय दुई जनाले सुत्केरी सेवा लिएको संयोजक सिग्देलले जानकारी दिनुभयो ।

वडा नं. ५ मा रहेको बर्थिङ सेन्टरबाट २८ जनाले सेवा लिएको उहाँले बताउनुभयो । गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत यो कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

पहिलो वर्ष पाँच जनाले सुत्केरी सेवा लिएको इचोक स्वास्थ्य चौकीमा दोस्रो वर्ष ५५ र चालु वर्षमा एक सय दुई जनाले सेवा लिइसकेका छन् ।

गाउँपालिकाभर दुई वटा बर्थिङ सेन्टरसहित नौ वटा स्वास्थ्य संस्था रहेका छन् । पाँच वटा स्वास्थ्य चौकी, दुई वटा स्वास्थ्य इकाई र दुई वटा बर्थिङ सेन्टरबाट हेलम्बु बासीले स्वास्थ्य सेवा लिइरहेका छन् ।

इमरजेन्सीको लागि बर्थिङसेन्टरमा अक्सिजन सिलिन्डर समेत राखिएको छ । इचोकमा रहेको बर्थिङ सेन्टरमा भिडियो एक्स-रे को समेत व्यवस्था गरिएको संयोजक सिग्देलले बताउनुभयो ।

सिन्धुपाल्चोक जिल्लाभरिका स्वास्थ्य चौकी मध्ये सबैभन्दा बढी सुत्केरी सेवा दिने स्वास्थ्य चौकीमा इचोक स्वास्थ्य चौकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले पुष्टि गर्नुभयो ।

उहाँले भन्नुभयो “गाउँपालिकाको राम्रो व्यवस्थापनले गर्दा छोटो समयमा धेरैको मन जित्न सफल स्वास्थ्य चौकी हो, सदरमुकाम चौताराबाट टाढा भए पनि व्यवस्थापन राम्रो भएकै कारण धेरैले सेवा लिएका हुन् ।”

सरकारले उपलब्ध गराउँदै आएको सुत्केरी भत्ता बापतको तीन हजार रुपैयाँमा गाउँपालिकाले थप तीन हजार दिने गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताउनुभयो ।

सुत्केरीलाई कुनै समस्या भएर रिफर गर्नुपरेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी कुरुवाको लागि छुट्टै घरको निर्माण समेत गरिएको छ ।

सुत्केरी कुर्न आउने र सुत्केरीलाई खान बस्नको व्यवस्था गाउँपालिकाले निःशुल्क गरेको छ । गाउँवासीको स्वास्थ्यलाई विशेष ध्यान दिँदै यसअघि नै गाउँपालिका भरीका दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । चिकित्सकसहित अध्यक्ष शेर्पा नै घर–घरमा पुगी दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

८ घन्टा अगाडि रेडियो नेपाल