तपाईँ सुन्दै हुनुहुन्छः

थप एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

फाइल तस्बिर

काठमाडौँ । आज थप एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार चार सय एक पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ८५ जना पुरुष तथा चार जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले कोसी अस्पतालमा गरिएको परीक्षणमा सङ्खुवासभाका दुई जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका नौ जना, नारायणी अस्पताल वीरगन्जमा बाराका एक जना र पर्साका दुई जना गरी जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका तीन जना र दाङका पाँच जना गरी जम्मा आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका सात जना, झापाका एक जना, कपिलवस्तुका ७७ जना, ललितपुरका एक जना, महोत्तरीका चार जना, रौतहटका छ जना, सर्लाहीका १७ जना र सिराहाका ११ जना गरी जम्मा एक सय २४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार हालसम्म नेपालको ५३ जिल्लाका एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप १३ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज टेकु अस्पतालबाट दुई जना र युनिफाईट कोभिड–१९ अस्पताल बलम्बुबाट ११ जना उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म एक सय ७२ जना पुरुष र ४७ जना महिला कोरोना भाइरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button