तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहर : पोजेटिभ देखिएकाको परिवार र छिमेकीलाई समेत विभेद

दोलखा । कोरोना पोजेटिभ देखिएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ तिखातलका ज्येष्ठ नागरिकलाई कसरी सङ्क्रमण भयो भन्ने विषयमा अन्योल देखिएको छ । उनको परिवारका सदस्यहरूले पुनः स्वाब परीक्षणको माग गरेका छन् ।

गत जेठ १० गते हाई ब्लड प्रेसरको समस्या भएपछि उहाँलाई दोलखाको गौरीशङ्कर अस्पतालमा प्राथामीक उपचार गरिएको थियो ।

त्यसपछि थप उपचारको लागि काठमाडौँको के एम सी अस्पताल लगिएको उहाँको आरडिटी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । त्यसपछि जेठ ११ गते आइतबार स्वाब परीक्षणको लागि पटाइएकोमा जेठ १४ गते बुधवार बेलुका कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई महाराजगन्जको टिचिङ अस्पताल लगिएको र अहिले सोही अस्पतालमा उहाँको उपचार भइरहेको परिवारका सदस्यहरूले बताएका छन् ।

उहाँलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रवार उहाँको प्राथामीक उपचारमा प्रत्यक्ष संलग्न गौरीशङ्कर अस्पतालका ६ जना स्वास्थ्य कर्मी, उहाँको तिखातल घरमा रहेका दुई नातिनी, उहाँको प्रत्यक्ष सम्पर्कमा पुगेका छिमेकी, नातेदार नेपाली सेनाका एक जवान र उनको साथीहरू तथा उहाँलाई अस्पताल लाने चालक गरी २५ जनाको स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

त्यसै गरी काठमाडौँमा उहाँलाई अस्पताल पुर्‍याउने बुहारी, उहाँको नाति, नातिनी र नातिनीको साथी गरी चार जनाको पनि पिसिआर विधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको परिवारका एक सदस्य उहाँलाई कोरोना पोजेटिभ देखिएपछि आफूहरूले मानसिक रूपमा ठुलै तनाव झेल्नु परेको बताउँछन् । उहाँको बाहेक हामी सबैको कोरोना नतिजा नेगेटिभ आइसक्दा पनि समाजले अझै हामीलाई विभेद गरेको छ यसले हामीलाई मानसिक तनाव भएको छ – परिवारका ती सदस्यले गुनासो गर्दै भने ।

कोरोना पोजेटिभ भनिएको उहाँ बाहेक सबैको नतिजा नेगेटिभ आएकोले आफूहरूलाई परीक्षणमै शङ्का लागेको उहाँको परिवारका सदस्यहरू बताउँछन् ।

त्यसैले उहाँको पुनः परीक्षण गरी आफूहरूले बेहोरेको मानसिक तनावबाट मुक्ति पाउनु पर्ने उनीहरूको भनाई छ । हामी सबैको पिसिआर विधिबाट परीक्षण गर्दा २४ घण्टामै नतिजा आयो तर उहाँको परीक्षणको नतिजा आउन भने चार दिन लाग्यो ती नातेदारले भने ।

कोरोना सङ्क्रमित ज्येष्ठ नागरिकको घर रहेको तिखातलका छिमेकीहरू पनि उहाँमा कसरी कोरोना सङ्क्रमण देखियो भन्ने कुरामा आश्चर्य लागेको बताउँछन् । उमेरकै कारणले पनि उहाँ लक डाउन पछि कतै पनि हिँडडुल गरेका छैनन् उहाँको नातेदार ज्ञानु योगीले भन्नुभयो – लक डाउन अघि २०७६ फागुन १०÷११ गते तिर इन्डियन आर्मीको पेन्सन लिन वीरगन्जसम्म पुगेर आएका हुन् ।

त्यति बेला वीरगन्ज जाँदा पनि स्वास्थ्यकै कारणले उहाँ गाडीबाट समेत नझरेको आफूले जानकारी पाएको योगीको भनाई छ ।
उहाँलाई वीरगन्ज लिएर जाने गाडी चालकको समेत पिसिआर विधिबाट कोरोना परीक्षण गरिएकोमा नेगेटिभ आएकोले उहाँलाई वीरगन्जमा सङ्क्रमण भयो की भन्ने सम्भावना समेत नरहेको योगी बताउनु हुन्छ ।

उहाँलाई कोरोना सङ्क्रमण देखिएपछि केही समय आफूहरूले सामाजिक रूपमा समस्या भोग्नु परे पनि अहिले छिमेकी लगायत सबैको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि समस्या नभएको योगीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button