तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकका क्षेत्रीय क्वारेनटाइनमा योग अभ्यास सुरु

मेलम्ची । सिन्धुपाल्चोकका क्षेत्रीय क्वारेनटाइनमा योग अभ्यास सुरु भएको छ ।

सोमबारबाट चौताराको जिल्ला समन्वय समितिको भवनमा रहेको क्षेत्रीय क्वारेनटाइनमा भारतबाट आएका ४० जनाको समूहलाई योग अभ्यास सुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिनुभयो ।

क्वारेनटाइनमा रहेको बेलामा नकारात्मक मानसिकता पैदा हुन सक्ने हुँदा केही हदसम्म मानसिक र शारीरिक अवस्था सन्तुलनमा राख्नका लागि तीन दिने योग अभ्यास सञ्चालन गरिएको तामाङले बताउनुभयो ।

जिल्ला बिपत व्यवस्थापन समितिले जिल्ला आर्युबेदिक स्वास्थ्य कार्यालयका प्रमुख संयोजक रहेको योग तथा मनोपरामर्श उपसमितिले क्षेत्रीय क्वारेनटाइनमा योग अभ्यास सञ्चालन गर्ने निर्णय गरेसँगै योग अभ्यास सुरु भएको हो ।

योग पतञ्जलि जिल्ला कार्यालयकाका अध्यक्ष कमल कृष्ण अधिकारी र स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले उक्त अभ्यास गराउनुभएको हो ।

उक्त अभ्यास जिल्लका तीन वटै क्षेत्रीय क्वारेनटाइनमा तीन दिन सञ्चालन गरिने छ ।

बालबालिका लक्षित ‘घरभित्रै सिकाई’ अभियान सुरु
सिन्धुपाल्चोक जुगल गाउँपालिकाले शिक्षण सिकाइलाई नयाँ ढङ्गले अगाडि बढाउने भएको छ ।
कोरोनाको कहर बिच बालबालिकाको अध्ययनलाई टेवा पुर्‍याउन जुगल गाउँपालिकाले ‘घरभित्रै सिकाई’ अभियान सुरु गरेको छ ।

लकडाउन भइरहेको अवस्थामा बालबालिका शिक्षाको पहुँचबाट टाढा भएको भन्दै पालिकाले उनीहरूको सिकाइलाई प्रभावकारी बनाउन अभियान सुरु गरेको हो ।

पालिकाले पूर्व प्राथमिक र कक्षा ३ सम्मका बालबालिकाको घर घरमा सिकाई सामाग्री पुर्‍याएर अभियान सुरु गरेको जनाएको छ ।

गाउँपालिकाले प्रकाशन गरेको सिकाई सामाग्रीमा तीन हजार बालबालिकाका हातमा सिकाई सामाग्री पुर्‍याउने लक्ष्य रहेको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । ‘३ कक्षा सम्मका बालबालिकालाई लक्षित गर्दै घरैमा सिकाई अभियान सुरु गरेका छौँ ।’ सिकाई सामाग्रीमा अभिभावकले बालबच्चालाई घरैमा बदलिँदो जीवन पद्धति र संस्कार सिकाउने श्रेष्ठले बताउनुभयो ।

सिकाई सामाग्रीमा केन्द्रित रहेर बालबालिकाले ४५ दिनसम्म नियमित गृहकार्य गर्न सक्नेछन् । घरभित्रै खेल्दै, घरभित्रै सिक्दै गृहकार्य गर्न मिल्ने गरी सामग्री तयार गरिएको छ । जहाँ बालबालिकाको दैनिक जीवन पद्धतिका कुरा समावेश छन् । बिहान सबेरै उठ्ने, नित्यकर्म, तातोपानी पिउने, योगा गर्ने, लगायतका गृहकार्य गर्दै उनीहरूले सिक्नेछन् ।

‘४५ दिनमा बालबालिकाले सिकेका आनीबानी, व्यवहार र संस्कारको मूल्याङ्कनका लागि शिक्षकहरू घरघरमा पुग्ने वातावरण बनाइएको छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो । ‘त्यसको लागि दुरी कायम गर्दै शिक्षकहरूले मूल्याङ्कन र पृष्ठपोषण गर्नेछन् ।’

लकडाउनको समय सीमा अनिश्चित बन्दै गएको र लकडाउन खुलेपछि पनि तत्काल विद्यालय सञ्चालनमा ल्याउन नहुने निष्कर्षसहित घरमै सिकाई अभियान सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button