तपाईँ सुन्दै हुनुहुन्छः

आठ लाख ३१ हजार ९९४ पुनःनिर्माण लाभग्राही    

राष्ट्रिय पुनरनिर्माण प्राधिकरणमा सबै गुनासो सम्बोधनपछि कूल पुनःनिर्माण लाभग्राहीको सङ्ख्या आठ लाख ३१ हजार ९९४ पुगेको छ ।

प्रबलीकरण लाभग्राहीको सङ्ख्या ७७ हजार २६४ पुगेको प्राधिकरणले जनाएको छ । यसमध्ये सात लाख ८२ हजार ६९५ पुनःनिर्माण लाभग्राहीले सम्झौता गरिसकेका छन् ।

तीमध्ये सात लाख ७६ हजार ८९८ ले पहिलो किस्ता लिएका छन् । यसैगरी कूल प्रबलीकरण लाभग्राहीमध्ये ४६ हजार ११९ ले सम्झौता गरेका छन् जसमा ४५ हजार ७४२ ले पहिलो किस्ता लिएको जनाइएको छ ।

पुनःनिर्माण लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि तीन किस्तामा रु तीन लाख अनुदान पाउँछन् । पहिलो किस्तामा रु ५० हजार लिएर जग निर्माण गनुपर्छ । प्राविधिकले प्रमाणीकरण गरेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार दिइन्छ । छानाको कामसमेत सकेपछि तेस्रो किस्ताको रु एक लाख दिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रबलीकरण लाभग्राहीले आंशिक क्षतिग्रस्त घर प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख पाउँछन् । प्रबलीकरण लाभग्राहीलाई दुवै किस्तामा रु ५०/५० हजार अनुदान दिइन्छ । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणका लागि अनुदान दिने व्यवस्था सरकारले गरेको हो ।

प्राधिकरणले गरेको गुनासो सम्बोधनबाट चित्त नबुझेमा गुनासोकर्ताले पुनरावेदन समितिमा निवेदन दिन सक्नेछ । उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय पुनरावेदन समितिको व्यवस्था पुनःनिर्माणसम्बन्धी ऐनमा गरिएको छ । पुनरावेदन समितिले त्यस्ता गुनसोकर्तालाई लाभग्राही हुने ठह¥याएमा उनीहरु आवास अनुदान पाउन योग्य हुनेछन् ।

निजी आवास पुनःनिर्माणमा गुनासो सम्बोधन निकै चुनौतीपूर्ण रहे पनि सम्पन्न गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताउनुहुन्छ । “लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नुहुनेछ”, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षमा पुनःनिर्माणको काम सक्ने सरकारले हालै सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button