तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको विद्यालयमा वैकल्पिक सिकाइको रूपमा ‘समुदायतर्फ विद्यालय’ अभियान

मेलम्ची । कोभिड– १९ का कारण लामो समयदेखि बन्द शैक्षिक संस्थाहरू कसरी र कहिलेबाट चल्ने भन्ने कुराको अन्योल भइरहेका बेला विभिन्न वैकल्पिक सिकाइका अभ्यासहरू सुरु भएका छन् ।

सहरी तथा इन्टरनेटको पहुँच सहज भएका केही विद्यालयहरूले अनलाइनमार्फत पठनपाठनको आंशिक अभ्यास गरे पनि अन्य क्षेत्रमा कसरी अगाडी बढ्ने भन्ने अन्योल झनै बढिरहेका बेला सिन्धुपाल्चोक मेलम्चीका केही विद्यालयले भने विद्यार्थीहरूसम्म शिक्षकहरू परिचालित हुने गरी ‘समुदायतर्फ विद्यालय’ अभियान सञ्चालन गरेका छन् ।

मेलम्ची नगरपालिकामा रहेको श्री तेर्से माध्यमिक विद्यालयले पहिलो चरणमा पाठ्यपुस्तक वितरणसँगै विद्यार्थीलाई स्वअध्ययनमा आधारित गृहकार्य र परियोजना कार्य वितरण गरेकोमा त्यसको निरन्तरताको निम्ति सामाजिक दुरी कायम गर्दै र सङ्क्रमणको जोखिम कम हुने गरी सुरक्षा सतर्कता अपनाउँदै दोस्रो चरणमा घरघरमै गएर विद्यार्थीले गरेका कामहरूको मूल्याङ्कन र थप स्वअध्ययन कार्य गराउन शिक्षकहरू समुदायमा परिचालित भएका छन् ।

शिक्षकहरू परिचालित भएर विद्यार्थी पढाइप्रति जागरूक गराउने कार्यले उनीहरूको सिकाइ निरन्तरताका लागि ठुलो मद्दत पुगेको अभिभावकहरूको बुझाइ छ ।

यसबाट अभिभावहरु निकै खुसी देखिएको र विद्यार्थी पनि उत्साहित देखिएको शिक्षक हरिप्रसाद धितालले बताउनुभयो ।

यसरी शिक्षकहरू समुदायमा परिचालित हुँदा विद्यालय भर्ना हुन र पाठ्यपुस्तक प्राप्त गर्न बाँकीलाई विद्यालयसँग जोड्न, शिक्षक विद्यार्थीबिचको सम्बन्ध कायम राख्न, स्वअध्ययनको क्रममा कठिन लागेका कुराहरूमा शिक्षकको सहयोग लिन र शिक्षकहरू घर आँगनमै आउने भएपछि सिकाई प्रति अग्रसर हुन प्रेरित हुनुका साथै अभिभावकले थप सहजीकरण गर्न पनि सजिलो हुने देखिएको शिक्षक भीम तामाङको बुझाइ रहेको छ ।

स्थानीय शिक्षकहरू आफ्नै टोल छिमेकमा परिचालित हुँदा सङ्क्रमणको जोखिम पनि कम हुने र सिकाइमा पनि सहजीकरण हुने भएकोले यो तरिका अपनाइएको प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले अनलाइन पद्धतिको लागि विद्यार्थीमा सहज पहुँच नभएको र प्रत्यक्ष दोहोरो सम्पर्कमा आधारित सिकाइ नै बालबालिकाका लागि स्थानीय शिक्षकहरू स्थानीय स्तरमै परिचालन सबैभन्दा उत्तम विकल्प रहेको बताउनुभएको छ ।

विद्यालयमै जम्मा गरेर शिक्षण गर्ने सहज वातावरण नबनेसम्म कम्तीमा हप्तामा एक पटक विद्यार्थीसँग प्रत्यक्ष सम्पर्क गरी यसरी नै अगाडी बढ्ने र अन्य सम्भावित विकल्पहरूलाई पनि क्रमशः उपयोग गर्दै जाने विद्यालयले जानकारी दिएको छ ।

यस्ता कार्यहरू गर्दा सामाजिक दुरी कायम गर्ने र सुरक्षाको उच्च सतर्कता अपनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निल बहादुर शाहीले जानकारी दिनुभयो ।

यसै गरी मेलम्ची कै अर्को विद्यालय सरस्वती मा वि, भोटे चौरले पनि यस्तै अभियानलाई अगाडी बढाएको छ ।

शिक्षक दीपक चौलागाईका अनुसार शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतनाका कामलाई शिक्षकहरूले समुदायमा लैजाने गरी परिचालित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button