तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को चौथो अधिवेशन भोली देखि शुरु हुदैं

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सभाको चौथो अधिवेशन भोली देखि शुरु हुन लागेको छ । वैठकका लागि प्रदेश सभा सचिवालयले तयारी पुरा गरेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिनुभएको छ ।

कोरोनाका महामारीलाई ध्यानमा राखेर सिटको व्यवस्थापन गर्ने काम भएको छ । प्रदेश सभाको क्षमता कम भएका कारणले यस पटक सञ्चारकर्मीलाई प्रवेश गर्न नदिए पनि यूटुव तथा अन्य सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाईएकाले समाचार संकलन तथा सम्प्रेषणमा कुनै कठिनाई नहुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

भोली दिउँसो १ बजे बोलाईएको प्रदेशसभा वैठकको शुरुमा प्रदेश प्रमुख तिलक परियारले पठाउनु भएको चौथो अधिवेशनको शुभकामना सन्देश सभामुख सरोज कुमार यादवले पढेर सुनाउने कार्यसूचि तय गरिएको निमित्त सचिव यादवले जानकारी दिनुभयो ।

यस पछि विभिन्न दलका संसदीय दलका नेताहरुले प्रदेश सभाको चौथो अधिवेशनमा शुभकामना दिनु हुने कार्यसूचि रहेको छ । यसै गरि भोलीको वैठकमा नै प्रदेश नंं २ का आर्थिक विकास तथा योजनामन्त्री विजय यादवले प्रि बजेट प्रस्तुत गर्ने कार्यसूचि बनाउने काम भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेट अधिवेशनको रुपमा रहेको चौथो अधिवेशनमा अगामी असार १ गते प्रदेश नंं २ का सरकारको तर्फवाट आर्थिक विकास तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम अर्थात बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सभाका पुराना टेवल तथा कुर्सीहरु हटाएर नयाँ कुर्सी राखी भर्चुअल वैठकको व्यवस्था गरिईएको प्रदेश सभाका अडियो तथा भिडियो गर्ने जिम्मा पाउनु भएका रेडियो नेपालका प्राविधिक अधिकृत एवं प्रदेश सभाका पनि प्राविधिक अधिकृत रहनु भएका ईन्द्रकुमार बहरखेल यादवले जानकारी दिनु भएको छ ।

यसका साथै प्रवेश गर्ने विन्दुमा सवैको तापक्रम जाँच गर्नुका साथै मास्क तथा सेनिटाईजरको प्रयोग गर्नका लागि अनिवार्य गरिईएको छ । यसै गरि प्रदेश सभाका सवै सदस्य, कर्मचारी तथा सुरक्षा कर्मीको पी सी आर परीक्षण पनि गरिईएको छ । यस अघि नै प्रदेश सभा वस्ने सभा कक्षलाई सेनिटाईज पनि गरिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button