तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा बजेट विनियोजन

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पूर्वाधारका निम्ति विभिन्न योजनाहरू अन्तर्गत रकम विनियोजन भएको छ ।

जस अन्तर्गत मेलम्ची –हेलम्बु सडक कालोपत्रे गर्न रु पाँच करोड, मेलम्ची–भोताङ खण्डको धाप भोताङ –याङ्री सडक निर्माणका लागि रु. तीन करोड, फुट्टे –दाउचेत – केउरेनी –बांसखर्क– बरुवा –याङ्री सडक स्तरोन्नतिका लागि रु. दुई करोड विनियोजन गरिएको छ ।

त्यस्तै मोटर पुलतर्फ चिण्डे –बांसखर्क मोटर पुल र गुन्सा रैथाने मोटर पुलको लागि रु.एक ,एक करोड विनियोजन गरिएको छ ।

गत २०७६ मङ्सिर १९ गते पूर्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङको सिफारिस र २०७६ साल पौष ९ गते सांसद तामाङ र आयोजनाको तर्फबाट डा. शम्भु कट्टेलको रोहबरमा गाउँपालिकाको तर्फबाट अध्यक्ष टासी लामा र मेलम्ची खानेपानी विकास समितिको तर्फबाट कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीको हस्ताक्षरमा भएको सम्झौता अनुसारका केही आयोजनाहरू समेत थप गरी योजना छनौट गरी रकम विनियोजन गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सी.डी.ई.राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

आयोजनाका पदाधिकारीहरू र तामाङका तर्फबाट स्वकीय सचिव निर्मल बन्जारा बिच मङ्गलवार भएको आयोजना कार्यान्वयन सम्बन्धी छलफलमा पहिलो चौमासिक भित्र आवश्यक प्रक्रिया पूरा गरी दोस्रो चौमासिकबाट प्रभावित क्षेत्रका विकासे आयोजनाका काम सुचारु गरिने जानकारी सांसद तामाङका स्वकीय सचिव निर्मल बन्जाराले जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित क्षेत्रका विकासे आयोजनाहरू तीव्र गतिमा अघि बढाउने र छिट्टै सम्पन्न गर्ने उद्देश्यका साथ दुई पक्ष बिच २०७६ पौष ९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

यस्तै हेलम्बु गाउँपालिका यस आयोजनाबाट मुख्य प्रभावित भएकाले आफूहरूको बारम्बारको पहलबाट आफूहरूलाई सो रकम प्राप्त भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।

उक्त बजेटबाट मेलम्ची–तिम्बु–मेलम्ची घ्याङसम्म सडक कालोपत्रे गर्ने सहमति पनि भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

यस्तै हेलम्बुको सेराबाट ग्यालथुम सुरुङ हुँदै गोल्फु भन्ज्याङसम्मको बाटो समेत कालोपत्रे गर्ने सहमति भएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button