तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले हिजो २२ गते मृत्यु भएका सुर्खेतका २८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि मृतकको सङ्ख्या ११ पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले दिनुभएको जानकारी अनुसार मृतक पुरुष यही जेठ ८ गते भारतबाट फर्किएर १४ दिनसम्म स्थानीय क्वारेनटाइनमा बसेका थिए ।

क्वारेन्टाईनमा रहँदासम्म सङ्क्रमणको कुनै लक्षण नदेखिएको र आरडिटि परीक्षणमा समेत सङ्क्रमण नदेखिएपछि घर फर्किएको र सोही दिन मृत्यु भएपछि पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।

यसै गरी आज थप दुई सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय १२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका आठ जना, मोरङका छ र झापाका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही सैनामैनाका १८ जना, नवलपरासीका दुई जना, अर्घाखाँची र पाल्पाका एक÷एक जना, किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र बाराका दुई÷दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १३ जना, भोजपुरका पाँच जना र झापाका एक जना, सेती अस्पतालमा गरिएका परीक्षणमा कैलालीका चार जना, डडेलधुराका पाँच जना, अछाम र बझाङका एक÷एक जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षण रामेछापका १७ जना र काभ्रेका पाँच जना, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षण दैलेखका ९० जना, जुम्लाका तीन जना, तथा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सुर्खेतका एक÷एक जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका छ जना, धनुषाका चार जना तथा कास्की, गुल्मी र बाराका एक ÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ६८ जिल्लाका दुई हजार सात सय १७ जना पुरुष र एक सय ९५ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी आज थप ४३ जना उपचारपछि निको भई डिस्चार्ज भएसङै हालसम्म जम्मा तीन सय ३३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन जना, कोसी अस्पताल विराटनगरबाट २७ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पताल बाट १३ जना गरी जम्मा ४३ जना कोरोना सङ्क्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हालसम्म दुई सय ७२ जना पुरुष र ६१ जना महिला कोरोना भाइरसको सङ्क्रमण मुक्त भई घर फर्किएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button