तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल बाहेक विश्वभर एक सय २७ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार (६,जुन २०२०)को साँझसम्म विदेशमा एक सय २७ जना नेपालीहरूको कोरोनाका कारणले निधन भएको छ ।

गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपालीहरूको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य रूपमा कमी आएको र सङ्क्रमण दर गत साता भन्दा ७५ प्रतिशतले कमी भएको छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच हजार पाँच सय ९० जना सङ्क्रमण मुक्त भएका छन् ।

गैर आवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा चार जना, कुवेतमा एक जना, युकेमा एक जना गरी छ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।
सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार विश्वका ३४ देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीहरूको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्याण्डस्, र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना नेपालीमा सङ्क्रमण गैर आवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।

नेपाल फिर्तीलाई व्यवहारिक बनाउन एनआरएनएको आग्रह
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुवात गरेकोमा गैर आवासीय नेपाली सङ्घले स्वागत गरेको छ ।

सरकारले शुक्रवारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु भएकोमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनु भएको छ ।

सरकारले लकडाउन भएको ७४ दिनपछि पहिलो पटक बर्माबाट २६ र युएईबाट एक ६८ जना नेपाली फर्काएको छ ।

विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरूको फिर्ती प्रक्रियालार्ई व्यवहारिक बनाउन सङ्घले नेपाल सरकालाई आग्रह गर्ने गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले बताउनुभयो ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीको लागि भोगेका समस्याका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो ।
सङ्घ (एनआरएनए) का महासचिव डा.हेम राज शर्माले विदेशमै पीसीआर टेस्टको सम्भावना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकेटले नेपाल जान पाउने गरी बाटो खोल्नु पर्ने बताउनुभयो ।

महासचिव डा.शर्माले विदेशमा रहेका नेपालीहरूलाई विमानस्थलसम्म पुर्‍याउनका लागि दूतावास र सङ्घको सहकार्यमा होल्डिङ्ग सेन्टर बनाउन सकिने बताउनु भएको छ ।

सङ्घले विदेशमा रहेका नेपालीहरूको शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर नेपाल जान नसक्ने नेपालीहरूको लागि आवश्यक सहयोगको लागि नेपाल सरकारलाई आग्रह गर्ने तयारी गरेको र विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दूतावाससँग सहकार्य गर्न सङ्घ र दूतावासबिच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा अघि सारेको गैर आवासीय नेपाली सङ्घ कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक, चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button