तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर र डडेलधुरामा कडा खालको औलोको सङ्क्रमण

कञ्चनपुर । रोजगारी तथा अध्ययनको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमका नागरिकहरू स्वदेश फर्कन थालेसँगै सुदूरपश्चिममा औलो रोगको जोखिम समेत बढेको छ ।

विगत केही वर्षयता नेपालका औलो रोगीहरू मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमै देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती मध्ये पछिल्लो समयमा भारतबाट नेपाल आएका व्यक्तिहरूमा औलो रोगको सङ्क्रमण देखिई आयातित औलो रोगीहरूको अनुपात आधाभन्दा बढी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशक डा. अवस्थीका अनुसार, हालै भारतबाट फर्किई क्वारेन्टीनमा बसेका केही व्यक्तिहरूमा समेत औलो आरडिटी जाँच गर्दा कञ्चनपुरमा पी.भाईभेक्स औलो र डडेलधुरामा पी.फाल्सीपारम औलो गरी अत्यन्तै कडा खालको औलो रोगको सङ्क्रमण देखाइपरेको छ ।

औलोको सङ्क्रमण समुदाय स्तरमा फैलिन नदिन र रोगीको पहिचान गरी समयमै उपचार गरी मृत्यु हुनबाट बचाउन क्वारेन्टीनमा बसेका व्यक्तिहरूलाई ज्वरो आएको खण्डमा कोभिड जाँचका अतिरिक्त औलो रोगका लागि अनिवार्य आरडिटी जाँच गर्न सबै स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई स्वास्थ्य निर्देशनालयले पत्राचार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button