तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा काेरोना परीक्षण किटको चरम अभाव, स्थानीय तह सामग्री खरिद गर्दै

अछाम – प्रदेश सरकारबाट उपलब्ध हुने कीट सामग्री माग भन्दा निकै कम हुन थालेपछि अछामका स्थानीय तहहरू आफै पीसीआर परीक्षणका लागि आवश्यक भीटीएम र आरडीटी कीट खरिद गर्न थालेका छन् ।

कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक किटको चरम अभाव भएपछि अछामका स्थानीय तह आफै खरिद गर्न थालेका हुन् ।

जिल्लाका तुर्माखाँद, ढकारी, मेल्लेख चौर पाटी, बान्नीगढी गाउँपालिका र कमल बजार नगरपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम र आरडीटी किट किन्न थालेका हुन् ।

स्थानीय तहले बढीमा एक हजारदेखि कम्तीमा डेढ सय र्यापिड डाइगोन्सिस टेस्ट (आरडिटी) किट र पीसीआर किनेका छन् ।

सङ्घ र प्रदेशको भर परेर परीक्षण बिना घर पठाउँदा कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै आफूहरू परीक्षण सामग्री खरिदमा लागेको चौर पाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनुभयो ।

मेल्लेख गाउँपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम पाँच सय थान र नौ सय आरडिटी किट किनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । तुर्माखाँद गाउँपालिकाले पाँच सय भीटीएम र एक हजार आरडीटी किट किनेको बताइएको छ ।

ढकारी गाउँपालिकाले दुई सय भीटीएम र पाँच सय आरडिटी किट मगाएको छ । बान्नीगढी जय गढ गाउँपालिकाले पाँच सय आरडीटी किट र केही भीटीएम खरिद गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो ।

क्वारेनटाइनमा रहेका व्यक्ति परीक्षणको अभावमा व्यवस्थापनमा स्थानीय तहलाई सकस भइरहेको छ । चौर पाटी गाउँपालिकाले केही भीटीएम र आरडीटी किटको अर्डर गरिसकेको छ ।

क्वारेनटाइनबाट घर फर्कने दिनमा व्यक्तिको स्वास्थ्य अवस्था अनुसार स्थानीय तहले भीटीएम वा आरडीटी परीक्षण गर्ने भएका हुन् । कोरोनाको लक्षणसँग मिल्दो लक्षण देखा परेमा समयमै स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउन सहज हुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

थोर थोरै आरडीटी र भीटीएम किनेर आवश्यक व्यक्तिमा परीक्षण हुने कमबलजार बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताउनुभयो । अन्य स्थानीय तहले समेत परीक्षण सामग्री किन्ने सोच बनाएका बताइएको छ ।

अछामका १० स्थानीय तहका विभिन्न वडामा रहेका क्वारेनटाइनमा छ हजार भन्दा बढी मानिस बसेको बताइएको छ ।

हाल प्रदेशबाट उपलब्ध आरडीटी करिब १२ सय तथा भीपीएम लगभग शून्यको अवस्थामा पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

जिल्लामा हाल १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भैसकेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button