तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नाका काँकडभिट्टामा भारतबाट आउने नेपालीको कोरोना परीक्षण सुरु

झापा । पूर्वी नाका झापाको काँकडभिट्टामा आइतबारबाट भारतबाट आउने नेपाली नागरिकहरूको कोरोना परीक्षण सुरु गरिएको छ ।

भारतमा अलपत्र परेका नेपाली धमाधम नेपाल प्रवेश गर्न थालेपछि नेपाली सेनालगायतको संयुक्त टोलीले भारतबाट आउने नेपालीको कोरोना जाँच सुरु गरेको हो ।

मेचीनगर–६स्थित काँकडभिट्टा माविको मैदानमा निर्माण गरिएको अस्थायी क्याम्पबाट नेपाली सेना, स्वास्थ्यकर्मीलगायतको टोलीले उनीहरूको थर्मल गन मार्फत ज्वरो मापन र आरडीटी परीक्षण सुरु गरेको हो ।

क्याम्पमा भारतबाट मेची पुलसम्म आएका नेपाली नागरिकहरूको सहजीकरण, आवश्यक स्वास्थ्य परीक्षण साथै आरडीटी टेस्ट गर्ने गरिएको नेपाली नागरिक स्वदेश आगमन सहजीकरण समितिका संयोजक जनक कोइरालाले बताउनुभयो ।

झापामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति’को बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो ।

जिल्लाकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएको कचनकवलमा क्वारेनटाइनको व्यवस्थापनका लागि सेनाले काम गरिरहेको छ ।

हाल काँकडभिट्टास्थित क्याम्पमा भारतबाट आउने नेपालीको आवश्यक स्वास्थ्य जाँच गरी सम्बन्धित पालिकाहरूमा पटाइँदै छ ।

जिल्ला बाहिरकालाई भने सम्बन्धित जिल्ला पठाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button