तपाईँ सुन्दै हुनुहुन्छः

खलङ्गा–तिंकर सडक खण्ड निर्माणलाई सरकारले थप महत्त्व दिएर अगाडी बढेको छ : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले कोरोनाको सङ्क्रमणको कारण कारण विनियोजन रकम अघिल्लो वर्षको भन्दा २२ अर्वले न्यून रहेको जानकारी दिनुहुँदै सकेसम्म प्रादेशिक सन्तुलन ख्याल गरी समानुपातिक ढङ्गले विनियोजन गरिएको बताउनुभयो ।

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री नेम्वाङले असहज परिस्थितिका बाबजुद औचित्य र आवश्यकताको आधारमा केही थोरै नयाँ कार्यक्रमहरू मात्रै यस वर्ष समेटिएको भन्दै विगतबाट सञ्चालन गरिएका ८० वटा राष्ट्रिय राजमार्गलाई निरन्तरता दिइएको र सडकको सुधार र सडक सुरक्षालाई ध्यान दिएर बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी नजिकैको क्षेत्र तिंकर पुग्ने सडक निर्माणका लागि अलग्गै कार्यालय स्थापना गर्ने जानकारी दिनुहुँदै मन्त्री नेम्वाङले महाकाली कोरिडोरको खलङ्गा–तिंकर सडक खण्ड निर्माणलाई सरकारले थप महत्त्व दिएर अगाडी बढेको बताउनुभयो ।

सहरी विकास मन्त्री समेत रहनु भएका मन्त्री नेम्वाङले कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका कारण यस वर्षका लागि ३६ अर्व ५२ करोड ३३ लाखको बजेट प्रस्ताव गरिएको र यसलाई प्रादेशिक सन्तुलन मिलाएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

बढ्दो सहरीकरणलाई नियन्त्रण गर्न सघन सहरी कार्यक्रम मार्फत भारतसँग जोडिएका तराई मधेसका २१ ओटा जिल्लाका सदरमुकामस्थित नगरपालिकाहरूमा कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन ।

स्मार्ट सहर कार्यक्रम हाल १३ वटामा सञ्चालनमा रहेको र रकम विनियोजन गरी एक सहर एक पहिचान अन्तर्गत १८ वटा नगरपालिका कार्यक्रम सञ्चालन गरिने र यसलाई थप गर्दै लगिने बताउनुभयो ।

देशभरका १८५ वटा नयाँ नगरपालिकाहरूमा एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने कार्य सम्पन्न भइसकेको र बाँकी ५० वटाके योजना तर्जुमा गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्ने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button