तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माण योजनाको अनुगमन

भरतपुर – चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ ।

चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घ र प्रदेशबाट विनियोजन भएका योजनाको एक सातादेखि अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत बद्रीनाथ सापकोटाले जानकारी दिनुभयो । “सबै स्थानीय तहमा अनुगमन गरेका छौँ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको समयमा पनि धमाधम काम भइरहेको छ ।” उहाँले काम शुरु नभएका योजनाको काम शुरु गर्न र निर्माणमा भइरहेका योजनामा देखिएको बाधा व्यवधान हटाउन पहल गरिएको बताउनुभयो । उहाँले असारको पहिलो र तेस्रो हप्तामा पनि अनुगमन गरिने जानकारी दिनुभयो ।

अनुगमनमा प्रदेशसभा सदस्यको सहभागिता थियो । रु ५० लाखमाथिका योजना बोलपत्र र अन्य उपभोक्ता समितिमार्फत काम भइरहेको छ । “सबै योजनामा काम भइरहेका छन्, आम नागरिकले पनि निकै चासोका साथ योजनाको निगरानी गरिरहेका छन्”, प्रदेशसभा सदस्य विजय सुवेदीले भन्नुभयो ।

आफ्नो क्षेत्रका योजनाको निरन्तर अनुगमन गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै आइरहेको उहाँले बताउनुभयो । बन्दाबन्दीले परिस्थिति प्रतिकूल भए पनि विकास निर्माण नरोक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

अनुगमन गरिएको योजनाको काम धमाधम भइरहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताउनुभयो ।

उहाँले बजेटको दुरुपयोग हुन नदिन चनाखो भएर काम गरिरहेको दाबी गर्नुभयो । खैरहनी, रत्ननगर, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटी तथा भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकामा जिससका उपप्रमुख मुनाकुमारी श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button