तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा पिसिआर मेसिन खरिदका लागि ७० लाखभन्दा बढीको चेक हस्तान्तरण

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण गर्न खरिद गर्न लागिएको पिसिआर मेसिनका लागि वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा आज एकै पटक ७० लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घ र वीरगन्ज महानगरपालिकाको बिचमा पिसिआर मेसिन सञ्चालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान समेत भएको थियो ।

सो अवसरका उद्योगी ब्यवसायीहरुको तर्फबाट सङ्घका अध्यक्ष गोपाल केडिया र वीरगन्ज महानगरपालिकाको प्रमुख विजय कुमार सरावगीले हस्ताक्षर गर्नुभएको छ ।

समारोहमा नगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई कोरोना मुक्त बनाउनको लागि नयाँ खरिद गरिने पिसिआर मेसिन सञ्चालनपछि नगरवासीको स्वास्थ्यमा ठोस सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सरकारी स्तरबाट सहयोग नभए पनि वीरगन्ज महानगरपालिका आफैँले पिसिआर मेसिन सञ्चालन गरी नगर तथा जिल्लालाई कोरोना मुक्त गराएर छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले सङ्कटका बेला उद्योगी व्यवसायीहरूले सहयोग गर्दै आएको र समाजलाई कोरोना मुक्त बनाउने जिम्मेवारी उद्योगी व्यवसायीको समेत रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पिसिआर मेसिन खरिदका लागि वीरगन्जका वरिष्ठ युवा व्यवसायी वीरेन्द्र संघाइले २० लाख, वरिष्ठ उद्योगपति बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले पाँच लाख, राजेश अग्रवालले छ लाख, आत्माराम काबराले पाँच लाख, मुरलीधर रुँगटाले पाँच लाख, हिरालाल केडियाले पाँच लाख, अशोक बैद्यले दुई लाख, सत्यनारायण क्यालले दुई लाख, चिरञ्जीवी लाल सरावगीले एक लाख सहयोग उपलब्ध गराउनु भएको बताइएको छ ।

सो अवसरमा वरिष्ठ उद्योगपति राम अवतार खण्डेलवाल, सञ्जय खेतानलगायत पर्साका सञ्चार कर्मी, तथा उद्योगी ब्यबसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button