तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालतको अस्थायी इजलास वीरगंजद्वारा भर्चुअल बहस मार्फत मुद्दाको सुनुवाई शुरु

बीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगन्जले आजबाट भर्चुअल बहस मार्फत मुद्दाको सुनुवाई गरी न्याय सम्पादन गर्ने कार्यको प्रारम्भ गरेको छ ।

कोरोना भाईरसबाट सिर्जित विषम परिस्थितमा संक्रमणको जोखिमलाई न्यूनिकरण गरी न्यायिक कार्यको निरन्तरता दिने उद्देश्यले सूचना प्रविधिको प्रयोग गरी भर्चुअल बहस मार्फत मुद्दाको सुनुवाई गरी न्याय सम्पादन गर्ने कार्यको प्रारम्भ गरिएको उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगन्जका रजिष्ट्रार ठाकुर खरेलले बताउनुभयो ।

उच्च अदालतको अस्थायी इजलास वीरगंजले छिटो छरितो र प्रभावकारी न्याय प्राप्त गर्ने सेवाग्राहीहरुको अधिकारको सम्मान गर्दै महामारिको अवस्थामा समेत न्यायको अनुभूति दिलाउने उद्देश्यले बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा, निवेदन प्रतिवेदन, सार्वजनिक सरोकारको रिट निवेदन, थुनुवामा भएका मुद्दा, नेपाल सरकारको तर्फबाट दायर भएका र प्रत्यक्षी झिकाउने आदेश नभएका मुद्दा, दुबै पक्ष उपस्थित भई सुनुवाई गरी पाउँ भनी पक्षहरुले निवेदन दिएको मुद्दा, मानाचामल एवं ७५ वर्ष नाघेका व्यक्ति तथा आपाङ्गता भएका व्यक्तिहरुको मुद्दा, २०७५ आषाढ मसन्त भित्र दर्ता भएका मुद्दा र मुद्दा फिर्ता तथा मिलापत्र लगायतका न्यायिक कार्यहरु गर्दै आएको छ ।

मुद्दाको सुनुवाईको कममा हुन सक्ने संकमणको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले पहिलो चरणमा अदालत र उच्च सरकारी वकिल कार्यालय, वीरगन्ज बीच भर्चुअल बहस प्रारम्भ गरीएको र निकट भविष्यमा कानून व्यवसायीहरुसंग समेत सोही प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाई हुने रजिष्ट्रार ठाकुर खरेलले बताउनुभयो ।

उच्च अदालतको अस्थायी इजलास, वीरगन्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश भीमकुमार ओझाको इजलासमा रहेको फौजदारी मुद्दामा आज सहन्यायाधिवक्ता कृष्णमोहन कोइरालाले सूचना प्रविधिको माध्यमबाट भर्चुअल बहस गर्नु भएको थियो ।

यसका साथै सुचना प्रबिधीको माध्यमबाट भर्चुअल बहस गर्न चाहने कानुन ब्यवसायीहरुले समय ब्यवस्थापन तथा सेट–अपका लागी आ–आफ्नो ल्यापटप सहित उच्च अदालत बीरगंजका कम्प्युटर अपरेटर संग सम्पर्क गर्न आग्रह समेत गरिएको रजिष्टार खरेल ले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button