तपाईँ सुन्दै हुनुहुन्छः

मकैबालीमा फौजी कीराको आक्रमणले किसान चिन्तित

स्याङ्जा– मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका किसान चिन्तित बनेका छन् । दुःख गरी लगाएको मकैबालीमा फौजी किराले क्षति पु¥याएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

मकैको गुवा र पात फौजीकिराले काटेर सखाप पारेपछि किसानले यस किराको नियन्त्रण र रोकथामका उपायको खोजीमा छन् । वालिङ नगरपालिका–१० का कृषक शङ्कर विकले खेतबारीमा लगाएको मकै अमेरिकन फौजीकिराले काटेर सखाप पारेको बताउनुभयो । “पहिलोपटक यस्तो किराको प्रकोप देखापरेको छ”, उहाँले भन्नुभयो, “दिनमा भन्दा रातिमा यो किराले धेरै बाली नष्ट गर्दोरहेछ ।” उहाँले दुःख गरी लगाएको खेतीमा यसरी किराले काटेर क्षति पु¥याउँदा साह्रै दुःख लागेको बताउँदै अहिले बारीमा कीटनाशक औषधि राखेको छु, हेरौँ के हुन्छ भन्नुभयो ।

वालिङ–१० का अर्की कृषक कोपिला विकको पनि गुनासो उस्तै छ । “दुःख गरी लगाएको खेती फल लाग्ने बेलामा किराले काटेर सखाप पारेको छ”, उहाँले भन्नुभयो, “खेतबारीमा गएर हेरिसक्नु छैन । के गर्ने किसानलाई केही गरे पनि सुख छैन ।” खेती नलगाउँ भएको जमिन बाँझो हुने, दुःख गरेर लगायो भित्र्याउनै नपाइने यो किसानको पीडा कसले बुझ्ने भन्दै उहाँले प्रश्न गर्नुभयो ।

खेती लगाउँदा भएको खर्चसमेत नउठ्ने अवस्था आएको कोपिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरपरिवारले मात्रै काम गरेर खेती लगाउन नसकिने खेताला अनि खनजोतको खर्चसमेत नउठ्ने भएपछि खेतीपाती गर्न अब किसानलाई गाह्रो हुने भयो । किसानको मर्का बुझेर सरकारले सहयोग गर्नुपर्छ ।”

वालिङ–९ पिपलटारीकी पार्वती गैरेले अमेरिकन फौजीकिराले गर्दा अहिले किसानको निद्रा पर्न छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले आफूले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु बिक्री गर्न नपाएर चिन्तित बनेका किसानलाई अहिले फेरि फौजीकिराले पीडामाथि पीडा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको समयमा आफूले लगाएको खेतीमा फौजीकिराले क्षति पु¥याएपछि कतै खाद्यान्नको सङ्कट त पर्ने होइन भन्ने चिन्ताले यतिबेला कृषकलाई सताएको छ ।”

गल्याङ नगरपालिका–११ का सागर न्यौपानेले खेतबारीमा लगाएको मकैखेती अहिले फौजीकिराले काटेर सखाप पारेको बताउँदै यसको नियन्त्रण नभएमा किसानले अब खेती लगाउने अवस्था नरहेको बताउनुभयो । गल्याङ नगरपालिकाको पेलाकोट, बेलटारी, पिडिखोला, जिम्मालगायत ठाउँ र वालिङ नगरपालिकाको मोदिखोला, फूलबारी, पिपलटारी, फौदिखोलालगायत ठाउँमा हजारौँ रोपनीमा कृषकले लगाएको मकैबालीमा फौजीकिराले क्षति पु¥याएको छ ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिग्राम अधिकारीले जिल्लाको ११ वटै स्थानीय तहमा फौजीकिराको प्रकोप रहेको र यसको रोकथामका लागि सुरक्षित विषादी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बालीभन्दा मकैबाली फौजीकिराले बढी मनपराउने भएकाले पनि मकैखेतीमा बढी क्षति पु¥याएको छ ।”

स्थानीय तहका कृषि शाखा प्रमुखहरुसँग फौजीकिराको नियन्त्रण र रोकथामका लागि जुममार्फत छलफल चलाएको बताउँदै लकडाउनका कारण विषादी आयात गर्न नपाउँदा पनि समस्या भएको प्रमुख अधिकारीको भनाइ छ । सुख्खा मौसममा यो किराले बढी नोक्सान पु¥याउने भए तापनि यसपालि बढी वर्षा भएकाले केही हदसम्म क्षति पुग्नबाट थोरै भए पनि कम भएको प्रमुख अधिकारीको भनाइ छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button