तपाईँ सुन्दै हुनुहुन्छः

विपन्नका लागि धमाधम नमूना बस्ती बन्दै

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीय तहले आवासविहीन विपन्न परिवारका लागि नमूना एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाले नमूना बस्ती निर्माण गर्न थालेका हुन् ।

विपन्न, भूमिहीन र दलित समुदायलाई लक्षित गरी स्थानीय तहले राष्ट्रिय मुक्त हलिया समाज र हेभिवेट नेपाल नामक गैरसरकारी संस्थाको साझेदारीमा आवास निर्माण गर्न लागेका छन् । प्राविधिक सहयोगसहित संस्थाले प्रतिघर निर्माणका लागि रु एक लाख सहयोग गरेको छ ।

बेदकोट नगरपालिकामा विपन्न परिवारका लागि आठ आवास निर्माण भइरहेको छ । जसका लागि विस्तृत लागत अनुमान (डिपिआर) निर्माणकार्य पूरा गरी आवास निर्माणको काम भइरहेको छ ।

आवास निर्माणका लागि सांसद नरबहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु ४२ लाख रकम खर्च गरी आवास निर्माणकार्य अगाडि बढाइएको बेदकोट नगरपालिका–५ का वडाध्यक्ष गणेश विकले बताउनुभयो।

“असार मसान्तभित्रै घर निर्माणकार्य पूरा गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “एक घर निर्माणमा रु सात लाख बढी रकम खर्च गरिएको छ ।” पहिलो चरणमा विपन्न परिवारका लागि आठवटा मात्रै घर निर्माण गरिए पनि नगरपालिकाले नगर क्षेत्रमा रहेका भूमिहीन र विपन्न परिवारका लागि ४५ घर निर्माण गर्ने लक्ष्य लिएको छ ।

यसैगरी भीमदत्त नगरपालिकाका विपन्न र भूमिहीन परिवारका लागि यस कार्यक्रमअन्तर्गत २० परिवारका घर निर्माणकार्य अगाडि बढाइएको छ । कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपकप्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, भीमदत्त नगरपालिका र हेभिवेट इन्टरनेशनलको साझेदारीमा घर निर्माण हुन लागेका हुन् ।

वडा नं ९ र १० मा १०–१० घर निर्माण हुन लागेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । । वडा नं ९ को जमुनाभाडीको बादी समुदायको बस्तीमा घर बनाउन थालिएको छ ।

बादी समुदाय पुस्तौँदेखि भूमिविहीन छ । निर्माण भइरहेका सबै घर शौचालयसहित दुई कोठाका छन् । घर निर्माण शुरु गरिएपछि भूमिहीन विपन्न परिवार खुुशी भएका छन् । गत वर्ष भीमदत्त नगरपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत १५ परिवारका घर निर्माण गरिएका थिए ।

घर निर्माणमा सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट रु ५० लाख, भीमदत्त नगरपालिकाको रु १० लाख र हेभिवेटको रु २० लाख खर्च साझेदारी गरिएको छ ।

महाकाली नगरपालिमामा भूमिहीन र विपन्न परिवारका लागि १४ घर निर्माणकार्य अगाडि बढाइएको छ । नगरपालिका र सांसद भट्टको स्थानीय पूर्वाधार विकास साझेदारीबाट रु ५० लाख रकम घर निर्माणका लागि परिचालन गरिएको छ । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार निर्माण हुने घर आधुनिक शैलीका हुनेछन् ।

घर भूकम्पप्रतिरोधी हुनुका साथै प्रत्येक घरमा शौचालयसमेत निर्माण गरिने छ । आवास निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने छ । प्रत्येक घरसम्म पुग्ने सडक र आवास रहेको जग्गामा फूलबारी करेसाबारीलगायतको समेत व्यवस्था गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button