तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखका २२ जना कोरोना निको भई फर्किए

दैलेख । दैलेखका २२ जनाले कोरोनालाई निको भएर घर फर्किएका छन् । जिल्लाको नारायण नगरपालिकाका २० महिने बालकसहित २२ जना कोरोना सङ्क्रमित निको भए घर फर्किएका हुन् ।

नारायण नगरपालिकाको सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २२ जना शुक्रवार घर फर्किएका छन् ।

उनीहरूलाई दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार डिस्चार्ज गरिएको हो ।

कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना निको भएपछि घर फर्किएका हुन् ।

कोरोना निको भएर फर्किने सबै भारतबाट आएका नेपाली नागरिक हुन् ।

आइसोलेसनमा उपचाररत उनीहरूको पीसीआर रिर्पाेट नेगेटिभ आएको र रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा.निरञ्जन पन्तले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार कोरोना निको हुनेहरूमा नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुष रहेका छन् ।

उहाँका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुष कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसै गरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना निको भएर घर फर्किएको फोकल पर्सन रेग्मीले बताउनुभयो ।

डिस्चार्ज भएकाहरूलाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१का अध्यक्ष तीर्थनारायण श्रेष्ठलगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्प गुच्छा दिएर बिदाइ गर्नुभएको थियो ।

घर फर्किने क्रममा उनीहरूले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिँदै आत्मबल बढाएर कोरोनालाई सहजै जित्न सकिने बताएका छन् ।

शुक्रवार कोरोना जितेर डिस्चार्ज भएका २२ जनासहित दैलेखका २६ जनाले कोरोना जितेका छन् ।

डुङ्गेश्वर गाउँपालिकाका एक जना र दुल्लु नगरपालिकाका तीन जना कोरोना निको भएर यसअघि नै डिस्चार्ज भइसकेको छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button