तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनले खानेपानी आयोजना सम्पन्न गर्न समस्या

मेलम्ची । कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरूमा त्यसको प्रत्यक्ष असर परेको छ ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी मन्त्रालयमार्फत बजेट विनियोजन भई यो आर्थिक वर्षमा सम्पन्न हुने खानेपानी योजनाका कामहरू लकडाउनका कारण सम्पन्न हुन समस्या भएको हो ।

खानेपानी मन्त्रालयले यस क्षेत्रको खानेपानीको सहज आपूर्ति गर्नका लागि चालु आर्थिक वर्षमा मात्रै ६ करोड बढी रुपैयाँ खानेपानीको लागि विनियोजन गरेको थियो ।

खानेपानी मन्त्री विना मगरसँग पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले यस क्षेत्रका स्थानीयको खानेपानी आपूर्ति सहज बनाएर मात्रै मेलम्ची काठमाडौँ लैजानका लागि आग्रह गनुैभएकोे थियो ।

खानेपानी मन्त्रालयबाट मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा गत वर्ष मेलम्ची खानेपानी आयोजना मार्फत ६३ वटा आयोजनाहरूको डीपीआर सम्पन्न भई २४ वटा आयोजनाहरू सुरु भएका र उक्त आयोजनाहरूमा यो वर्ष खानेपानी मन्त्रीको विशेष निर्देशनमा निर्माण कार्य सुरु भए पनि लकडाउनका कारण योजना सम्पन्न हुन ढिलाइ भएको पुर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाका कामु आयोजना प्रमुख मोहन लाल जैसीले प्रभावित क्षेत्रका आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखिएकाले सकेसम्म समयमै सम्पन्न गरिने जानकारी दिनुभयो ।

चालू आयोजनाहरूमा सांसद सांसद शेरबहादुर तामाङको तर्फबाट संयोजन गरी रहेका तामाङको स्वकीय निर्मल बन्जाराका अनुसार प्रभावित क्षेत्रका ४९ वटा आयोजनाहरू मध्ये पुराना र नयाँ गरी करिब २० वटा आयोजनाहरूको सम्झौता सम्पन्न भएका र बाँकी आयोजनाहरूका लागि पाइप र फिटिङ्सको टेन्डर प्रक्रियामा गएको छ ।

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा आगामी वर्षका लागि ९० वटाभन्दा बढी खानेपानी योजनाहरू प्रस्ताव गरिएको र सन् २०२२ सम्ममा प्रभावित क्षेत्रमा गुणस्तरीय खानेपानी वितरण कार्य सम्पन्न गर्न पहल भइरहेको सांसद तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button