२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम 

रेडियो नेपाल २०७७ जेठ ३१ गते ७:०६

खलङ्गा  ।  जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ ।

यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताउनुभयो ।

जिल्लाको पातारासी गाउँपालिकामा सो कार्यक्रम सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

जारी बन्दाबन्दीले घर खर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अतिगरिब घर पहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।

यहाँको हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका एक हजार ७८५ बेरोजगारमध्येबाट प्राथमिकताका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिइएको छ ।

सो कार्यक्रमअन्तर्गत गाउँपालिकाको–४ स्थित हिमा आवासीय विद्यालयको भवन निर्माण र घेराबार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

कामदारले दैनिक रु ६६० ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो ।

सो आयोजनाको कूल बजेटमध्ये ७० प्रतिशत रकम कामदारको ज्यालादारीमा र ३० प्रतिशत रकम आयोजनालाई आवश्यक पर्ने सामग्री खरिद गर्न सकिने कार्यालयका सवइञ्जीनियर प्रेमबहादुर शाहीले बताउनुभयो ।

जिल्लाको तातोपानी गाउँपालिकाले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिसकेको छ भने तिला, गुठीचौर, कनकासुन्दरी, चन्दननाथ नगरपालिका र सिञ्जा गाउँपालिकाले आउने महिनाको पहिलो हप्ताबाट कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् ।

सम्बन्धित

४ लाखभन्दा बढीको अवैध मल खाद बरामद

६ मिनेट अगाडि कृष्ण सिंह साउद 

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

३८ मिनेट अगाडि ध्रुव अधिकारी

भीमेश्वरको सिलामा पसिना

१ घन्टा अगाडि चिरञ्जीवी मास्के